काठमाडौं । सिराहाकी जानकीदेवी राम नेकपा एमालेको समानुपातिक सांसद् बन्नुभएको छ ।
नेकपा एमालेको सिफारिसमा निर्वाचन आयोगले उहाँलाई सांसद् बनाउने निर्णय गरेको हो । आयोगको बुधबार बसेको बैठकले सानु सिवाको निधन पछि रिक्त रहेको स्थानमा जानकीदेवीलाई सांसद् बनाउने निर्णय गरेको हो ।
आयोगको निर्णय संसद् सचिवालयमा पठाएपछि उहाँले सांसद् पदको सपथ ग्रहण गर्नुहुने छ । नेकपा एमालेबाट निर्वाचित समानुपातिक सांसद् सिवाको गत असोज २८ निधन भएको थियो । एमालेले दलित महिला तर्फको बन्द सूचीको एक नंम्बरमा सिवाको नाम सिफारिस गरेको थियो भने दोस्रो नम्बरमा धनकुमारी सुनारको नाम थियो ।
दोस्रो नम्बरमा रहेकी धनकुमारीले पार्टी छाडेपछि तेस्रो नम्बरमा रहेकी जानकी देवीलाई सांसद् बनाउन पार्टी अध्यक्ष केपी शर्मा ओलीले नाम सिफारिस गर्नुभएको थियो । सोही आधारमा उहाँलाई सांसद् बनाउने निर्णय आयोगले गरेको हो ।
