काठमाडौं । नेकपा एमालेका सांसद् एवं पूर्वमन्त्री गोकुल बास्कोटाले विरोधको लागि विरोध नगर्न आग्रह गर्नुभएको छ ।
सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै बास्कोटाले सरकारले गरेको विकासको परिकल्पना र कामको विरोध गर्नु विडम्बनापूर्ण भएको बताउनुभयो । कृष्णप्रसाद भट्टराईले ३० वर्ष अघि देखेको मेलम्चीको पानी अहिले काठमाडौं आउँदा केपी ओलीले नेपालमा रेल ल्याउन देखेको सपना निरर्थक नहुने बताउनुभयो ।
सरकारले गरेको काम हेर्न र सुन्न नसक्नेलाई कानमा रुवा हाल्न र आँखामा साउने चश्मा लगाउन उहाँले सुझाव दिनुभयो । ‘आरोपमा मात्र हामी समय खर्च नगरौँ, मेलम्चीको पानी जनताले टुटी खोलेर खान लागि सके’, उहाँले भन्नुभयो ।
वर्तमान सरकार कामचलाऊ सरकार नभएको बताउँदै ‘दिएको समर्थन फिर्ता लिन नसक्ने, अनि सरकारलाई काम चलाऊ, भन्ने ?’ उहाँले भन्नुभयो । ‘सक्ने भए विश्वासको प्रस्ताव फिर्ता लिनुस्’, माओवादीलाई उहाँले चुनौती दिनुभयो ।
मुलुकलाई निकास दिने हो भने ताजा जनादेशमा जानुको विकल्प नभएको उहाँले बताउनुभयो । त्यसैले प्रधानमन्त्रीले जनताको बीचमा जाने निर्णय गर्नुभएको उहाँले बताउनुभयो । 'चुनाव देख्ने वित्तिकै फोविया हुने साथीहरुले प्रतिगमनको कुरा गर्ने ?' उहाँले प्रश्न गर्नुभयो ।
