काठमाडौं । नेपाली कांग्रेसकी सांसद् पुष्पा भुसालले नेपालको नयाँ मानचित्र कार्यान्वयनमा ल्याउन माग गर्नुभएको छ ।
सोमबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै भुसालले नेपालको नयाँ मानचित्र कार्यान्वयनमा नल्याएको भन्दै सरकारको आलोचना गर्नुभयो । ‘नेपालको नयाँ चुच्चे नक्सा खोई ?’ उहाँले प्रश्न गर्नुभयो ।
नेपालको नयाँ मानचित्रलाई संसदबाट पारित गरेर संविधान नै संशोधन गरे पनि कार्यान्वयन गर्न सरकार हिचकिचाएको उहाँको आरोप छ । ‘नयाँ नक्सालाई पाठ्यक्रममा समावेश किन नगरेको ?’ भुसालले भन्नुभयो ।
राष्ट्रिय जीवनका विभिन्न क्षेत्रहरुमा योगदान दिएका व्यक्तीहरुलाई गत चैत २७ गते राष्ट्रपतिले दिनु भएको विभूषणमा नेपालको नयाँ नक्सा नहुनु गम्भीर गल्ती भएको भुसालको भनाइ छ ।
यस विषयमा गृह मन्त्रालयले भने स्पष्टिकरण दिइसकेको छ । नयाँ मानचित्र आउनु अघि नै विभूषण घोषणा भएकोले पुरानै मानचित्र भएको विभूषण दिइएको र आगामी बैशाख १ मा दिने विभूषणमा भने नयाँ नक्सा अंकित हुने गृहमन्त्रालयले जनाइसकेको छ ।
