काठमाडौं । माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले माओवादी जनताको मतलाई सम्मान गर्नको लागि सरकारमा बसेको बताउनुभएको छ ।
पछिल्लो समय माओवादी केन्द्रलाई सरकारको समर्थन फिर्ता लिन दवाव आइरहेको भए पनि जनमतको सम्मानकै लागि समर्थन फिर्ता नलिएको उहाँले बताउनुभयो । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले भन्नुभयो ‘केपी ओली सरकार प्रतिगमनकारी छ तर हामी समर्थन फिर्ता लिन सक्दैनौँ, हामीसँग जनताको मत जोडिएको छ, संसद्को रक्षाका लागि सरकारलाई समर्थन गरिरहेका छौँ ।’
लोकतन्त्रमा जनताको मत सबैभन्दा ठूलो कुरा रहेको बताउदैँ उहाँले जनताकै लागि सरकारको साथ नछाडेको बताउनुभयो । ‘केपी ओलीले संविधानको मर्मलाई लत्याउनुभएको छ, हामी सरकारमा बसेरै संविधानको रक्षा गर्छौँ’, उहाँले भन्नुभयो ।
प्रतिनिधि सभाको विषेश समयमा बोल्दै उहाँले सरकारले अध्यादेशको भरमा देश चलाउन खोजेको आरोप लगाउनुभयो । सरकारलाई समर्थन गर्नुको अर्थ सरकारका अलोकतान्त्रिक कदमलाई समर्थन गर्नु नभएको उहाँले बताउनुभयो ।
