काठमाडौैं । प्रतिपक्षी दलहरुको अवरोधका कारण सोमबार पनि प्रदेश नं १ को प्रदेश सभा बैठक स्थगित भएको छ ।
स्वीकृत विकास योजनामा स्रोत सुनिश्चित हुनुपर्ने माग राख्दै प्रतिपक्षी दलले अवरोध गरेपछि आजको बैठक अवरुद्ध भएको हो ।
बैठकको सुरुमा नै जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता जयराम यादवले विकास योजनामा स्रोत सुनिश्चित नभएसम्म बैठक चल्न नदिने अडान राख्नुभएको थियो ।
प्रतिपक्षी दलको अवरोध पछि उपसभामुख सरस्वती पोखेरलले बैठक स्थगित गर्नुभएको थियो ।
विकास योजनामा स्रोत सुनिश्चित नभएको भन्दै नेपाली कांग्रेस, जसपा, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले विरोध जनाउँदै आएका छन् ।
यसअघि बिहीबार र शुक्रवार बसेको बैठक समेत प्रतिपक्षी दलको अवरोधका कारण स्थगित भएको थियो । स्थगित भएको बैठक वैशाख ५ गते बस्ने भएको छ ।
