काठमाडौं । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ ।
गण्डकी प्रदेश प्रमुख अमिक सेरचनले अधिवेशन अन्त्य भएको बुधबार राति विज्ञप्ति निकालेर जानकारी दिनुभएको छ । वैशाख १ गते राति १२ बजेबाट लागू हुनेगरी अधिवेशन अन्त्य भएको विज्ञप्तिमा उल्लेख छ ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दायर हुने बताइरहेका बेला अधिवेशन अन्त्य भएको घोषणा गरिएको हो । नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले मुख्यमन्त्री गुरुङविरुद्ध आज दिउँसो अविश्वास प्रस्ताव दर्ता गर्ने बताएका छन् । कांग्रेस सांसद् प्रकाशचन्द्र दवाडीका अनुसार आज दिउँसो सुरुमा कांग्रेस र त्यसपछि अरु दलको संयुक्त बैठक बसेर छलफल गरेपछि अविश्वास प्रस्ताव दर्ता गर्न लागिएको हो । तर प्रदेश सरकारले त्यसअघि नै अधिवेशन अन्त्य गरेको छ ।
जनमोर्चाले समर्थन फिर्ता लिएसँगै गण्डकी प्रदेश सरकार संकटमा छ । प्रदेश सरकारलाई समर्थन गर्ने विषयलाई लिएर जनमोर्चा विभाजित देखिएको छ । केन्द्रले समर्थन फिर्ता लिने बताइरहँदा प्रदेश भने मुख्यमन्त्रीकै समर्थनमा थियो । यद्यपि प्रदेश सांसद्ले केन्द्रको दबाबमा पार्टीको आदेश मान्नैपर्ने वाध्यता भएको बताएका छन् । यसले गर्दा गुरुङ नेतृत्वको सरकार अप्ठ्यारोमा परेको हो । सरकार अप्ठ्यारोमा परेपछि अधिवेशन अन्त्य गरिएको बताइन्छ ।
