काठमाडौं । ‘माधव–प्रचण्ड समूहको मान्छे हूँ, अनि एमालेलाई कसरी भोट दिनु ?’– फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई मत दिनुभएका कर्णाली प्रदेशका सांसद् अम्मर बहादर थापाले प्रतिप्रश्न गर्नुभयो ।
उहाँले भन्नुभयो– ‘हाम्रो नेता माधव नेपाललाई एमालेले कारवाही गरेको छ । त्यो एमालेलाई हामीले ध्वस्त पार्ने हो । म एमाले भन्नेलाई मान्दिन, प्रचण्ड र माधव नेपालको समूहलाई मान्छु । त्यसैले एमालेलाई ध्वस्त पार्न फ्लोर क्रस गरेको हूँ ।’
‘पार्टीमा माथिसम्मै विवाद छ, अनि हामी पार्टी विपरित जान किन नपाउने ?’– उहाँले अर्काे प्रश्न गर्नुभयो ।
शुक्रबार कर्णाली प्रदेश सभाको बैठक सुरु हुन अघिसम्म ‘हामी ढुक्क भएर एमालेलाई नै मतदान गर्छौं’ भनिरहनुभएका थापाले फ्लोर क्रस गरेपछि भन्नुभयो– ‘हामी एमालेलाई मान्दैनौं ।’ थापा सहित चारजना सांसद्ले फ्लोर क्रश गरेपछि कर्णालीमा माओवादीका महेन्द्रबहादुर शाहीको सरकार जोगिएको हो ।
‘म माधव गुटको मान्छे हो, हामी एमालेलाई ध्वस्त पार्न चाहन्छौं’– अम्मरले भन्नुभयो ।
‘हाम्रो नेता माधव नेपाललाई एमालेले कारबाही गरेको छ । हामीले एमालेलाई किन मान्ने ? जबसम्म एमालेमा रहन्छौं, एमालेलाई यसरी नै ध्वस्त पारिरहन्छौं’– उहाँले भन्नुभयो ।
एमालेले कारबाही गर्छ भन्ने थाहा हुँदाहुँदै पनि आफूहरुले फ्लोर क्रस गरेको उहाँले खुलाउनुभयो । उहाँले भन्नुभयो– ‘विचार जता हो त्यतै भोट हालियो, कारवाही हुन्छ भने भोग्न तयार छौं ।’
उहाँले थप्नुभयो– ‘हाम्रो उद्देश्य एमालेलाई ध्वस्त पार्ने हो । हामी माधव गुटका सबैजना मिलेर एमाले भन्ने नसिध्याई छाड्दैनौं । हामी विगतको नेकपालाई मान्छौं । विगत नेकपाको तर्फबाट माधव नेपालले जे भन्नुभयो हामीले त्यही गरेका हौं ।’
