काठमाडौं । गण्डकी प्रदेशकाे प्रदेश सभाको विशेष अधिवेशन सोमबारदेखि सुरु हुँदैछ ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले वैशाख २ गते प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गर्नुभएको थियो । सोही दिन नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेर विशेष अधिवेशन बोलाउन माग गरेका थिए ।
अविश्वास प्रस्तावमा २८ जना सांसद्ले हस्ताक्षर गरेका छन् । वैशाख ६ गते प्रदेश प्रमुख शेरचनले १३ गतेका लागि विशेष अधिवेशन बोलाउनुभएको थियो ।
भोलिको प्रदेश सभा बैठकमा मुख्यमन्त्रीविरुद्धको प्रस्ताव पेस हुने भएको छ । आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सोमबार अविश्वास प्रस्ताव टेबुल गर्ने र बुधबार मतदान गर्ने निर्णय गरेको हो ।
गण्डकी प्रदेशमा ६० जना सांसद् छन् । जसमा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२, जनमोर्चाका तीन, जसपाका दुई र एक जना स्वतन्त्र सांसद् छन् । स्वतन्त्र सांसद् दिपक मनाङ्गे मुख्यमन्त्री गुरुङकै पक्षमा हुनुहुन्छ ।
राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय वैशाख १ गते गरेको थियो । सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय केन्द्रले गरेपनि प्रदेश सरकारविरुद्ध ल्याएको अविश्वास प्रस्तावमा जनमोर्चाका सांसद्ले हस्ताक्षर गरेका छैनन् ।
६० सदस्यीय प्रदेश सभामा बहुमत पुर्याउन ३१ सांसद् चाहिन्छ । जनमोर्चाले साथ छोडेपछि मुख्यमन्त्री गुरुङ अल्पमतमा पर्नुभएको छ । अब जनमोर्चाले फ्लोर क्रस गरे मात्र मुख्यमन्त्रीको पद जोगिन्छ ।
