काठमाडौं । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरूद्ध गण्डकी प्रदेश सभामा अविश्वास प्रस्ताव टेबुल भएको छ ।
नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले आज प्रदेश सभामा अविश्वास प्रस्ताव टेबुल गर्नुभएको हो । आजदेखि सुरु भएको प्रदेश सभाको विशेष अधिवेशनको पहिलो बैठकमा नै मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल गरिएको हो ।
गत वैशाख २ गते मुख्यमन्त्री गुरूङविरूद्ध प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता भएको थियो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादीका गरेर २८ प्रदेश सभा सदस्यले मुख्यमन्त्री गुरूङविरूद्ध अविश्वास प्रस्ताव दर्ता गर्नुभएको थियो । उहाँहरुले विशेष अधिवेशन बोलाउन पनि माग गर्नुभएको हो ।
त्यसअघि वैशाख २ गते नै प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको थियो । तर पछि प्रदेश प्रमुख अमिक शेरचनले वैशाख ६ मा वैशाख १३ गते बस्नेगरी प्रदेश सभाको विशेष अधिवेशन आव्हान गर्नुभएको हो । गण्डकी प्रदेशमा ६० जना सांसद् छन् । जसमा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२, जनमोर्चाका तीन, जसपाका दुई र एक जना स्वतन्त्र सांसद् छन् । स्वतन्त्र सांसद् दिपक मनाङ्गे मुख्यमन्त्री गुरुङकै पक्षमा हुनुहुन्छ ।
राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय वैशाख १ गते गरेको थियो । सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय केन्द्रले गरेपनि प्रदेश सरकारविरुद्ध ल्याएको अविश्वास प्रस्तावमा जनमोर्चाका सांसद्ले हस्ताक्षर गरेका छैनन् ।
६० सदस्यीय प्रदेश सभामा बहुमत पु¥याउन ३१ सांसद् चाहिन्छ । जनमोर्चाले साथ छोडेपछि मुख्यमन्त्री गुरुङ अल्पमतमा पर्नुभएको छ । अब जनमोर्चाले फ्लोर क्रस गरे मात्र मुख्यमन्त्रीको पद जोगिन्छ ।
