काठमाडौं । ‘अविश्वासको प्रस्ताव जनताको मागबाट आएको होइन, सत्ताको लोभमा ल्याइएको हो’– नेकपा एमाले गण्डकी प्रदेशका सांसद् रोशन गाहा मगरले भन्नुभयो ।
सोमबारदेखि सुरु भएको गण्डकी प्रदेश सभाको विशेष अधिवेशनमा बोल्दै सांसद् गाहाले भन्नुभयो – ‘यो प्रस्ताव जनताको तर्फबाट आएको होइन, सिर्फ सत्ताको लालचका लागि आएको छ ।’
पुरानो संसदीय प्रणालीले काम गर्न नसेर नयाँ व्यवस्था जनताले ल्याएपनि जनताको मर्म विपरित ल्याइएको अविश्वासको प्रस्ताव जनताको भावनालाई ठेस पुग्ने किसिमको भएको उहाँले बताउनुभयो । सरकारले जनताको मन छुनेगरी विकासमा काम गरिरहेको बताउँदै उहाँले भन्नुभयो – ‘विकासको गति हेर्न नसकेर, देख्न नसकेर राजनीतिक अस्थिरता ल्याउँनका लागि मात्र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव ल्याइएको छ ।’
स्थानीय, प्रदेश र केन्द्र जहाँ भएपनि जनताको मर्म नबुझेर सत्तामा मात्र अल्झन राम्रो नभएको उहाँले बताउनुभयो । ‘सरकारले गरिहेको विकासको गति ब्रेक गर्ने, जनतालाई प्रतिगमनका नाममा भ्रम सृजना गर्ने र सत्तामा जान अनेक खेल भइरहेको छ, यो अविश्वासको अर्थ छैन’ – उहाँको भनाइ छ ।
गण्डकी सरकारले ३ वर्षमा विकासको क्षेत्रमा ठुलो फड्को मारेको भन्दै उहाँले अविश्वासको प्रस्ताव ल्याउन प्रतिपक्षले हतार गरेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘तीन तहकै सरकारले गरेको विकास प्रतिपक्षलाई पचेन डाहा लाग्यो र यो कदम चाल्नुभयो ।’ लोकतन्त्रमा जनताको भावनाको कदर गर्नुपर्नेमा जनतालाई नै भ्रममा पारेर काम सरकारले काम गरेन भन्नु लोकतान्त्रिक मूल्य र मान्यतामाथि प्रहार गर्नु भएको उहाँका भनाइ छ ।
राम्रो काम गर्दागर्दैपनि सरकारविरुद्ध ल्याइएको अविश्वास प्रस्तावप्रति आफू र आफ्नो दल सहमत नभएको सांसद् गाहाले बताउनुभयो ।
