काठमाडौं । ‘मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध ल्याइएको अविश्वास प्रस्ताव पूर्वाग्राहीको पुलिन्दा मात्र हो’– एमाले गण्डकी प्रदेश सभा सदस्य सावित्रा रानाले भन्नुभयो ।
सोमबारदेखि सुरु भएको गण्डकी प्रदेश सभाको विशेष अधिवेशनमा अविश्वास प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद् सावित्राले त्यसो भन्नुभएको हो । ‘प्रदेश सरकारले अविश्वास प्रस्ताव ल्याउँनैपर्ने के त्यस्तो काम गर्यो ? सरकारले संविधान र जनताको अपेक्षा अनुसार विकास र निर्माणले गति लिइरहेको थियो, सुखी र समृद्ध प्रदेश बनाउने अभियानमा अगाडि बढिरहेको थियो, विकासमा काम तीब्र गतिमा भइरहेका थिए, अविश्वास प्रस्ताव हेर्दा पूर्वाग्राहीको पुलिन्दा हो भन्ने मलाई अनुभूति भइरहेको छ’– सावित्राको भनाइ छ । अविश्वास प्रस्तावको व्यहोरा नै पूर्वाग्राहीपूर्ण रहेको उहाँले बताउनुभयो ।
सरकारले राम्रो काम गर्दागर्दै पनि ढाल्न खोज्नु दुःखद भएको सीताले बताउनुभयो । प्रदेश सभामा कोरोना महामारीबारे छलफल केन्द्रित हुनुपर्ने बेला सरकार ढाल्न अविश्वास प्रस्तावमा छलफल हुनु जनमतको सम्मान गर्न नसक्नु भएको उहाँले बताउनुभयो ।
सरकारले तीन वर्षको अवधिमा धेरै राम्रा काम गरेको उहाँको भनाइ छ । सरकारले पूरै ५ वर्ष काम गर्न सक्यो भने जनताका अपेक्षा पूरा गर्नेमा कुनै शंका नरहने पनि सावित्राले बताउनुभयो । सरकारका तीन वर्षे उपलब्धिले नै त्यसको पुष्टि गरेको उहाँको भनाइ छ ।
सरकारले कामै नगरेजसरी प्रचार गरिएको बताउँदै उहाँले भन्नुभयो – ‘सरकारले सबै निर्वाचन क्षेत्र र जिल्लामा बाटो बनाएनकी ? खानेपानी सुविधा नभएको ठाउँमा जनताको घरमा खानेपानी पुर्...याउन सकेनकी ? के सकेन ? बाग्लुङको कर्णाली भनेर चिनिने सल्यान र सुखौरामा गएर सरकारको विकास हेर्नुस्, जनताका घरमा गएर हेर्नुस्, सरकारले धेरै काम गरेको छ ।’
आरोपमात्र लगाउनुभन्दा पनि सरकारका काम देख्न प्रतिपक्षी सांसद्लाई आग्रह गर्नुभयो । अझैपनि समय रहेको भन्दै उहाँले चित्त नबुझेका कुरा राखेर समझदारी अनुसार गुरुङ नेतृत्वको सरकारलाई काम गर्न दिनुपर्ने बताउनुभयो । वामपन्थीको सरकार बनाउन प्रदेशका जनताले भारी मत दिएका स्मरण गर्दै सांसद् सावित्राले भन्नुभयो – ‘थुप्रै माननीयका लागि हामीले मत मागेका थियौं, दिनरात नभनी जनताको घरदैलोमा पुगेका थियौं, ती माननीय यहीँ हुनुहुन्छ, जनताप्रति गरेका प्रतिबद्धता म म भन्दै मनन गर्न म अनुरोध गर्दछु ।’
गुरुङ नेतृत्वको सरकारले स्थायित्व पायो भने मात्र जनताको अपेक्षा पूरा हुने भन्दै उहाँले आफू र आफ्नो पार्टी अविश्वास प्रस्तावको विपक्षमा रहेको बताउनुभयो ।
