काठमाडौं । अविश्वास प्रस्तावमा लेखिएका कुरा सत्य छन् त ? एमाले गण्डकी प्रदेश सभा सदस्य कृष्णबहादुर थापाले प्रश्न गर्नुभयो ।
बुधबार बसेको गण्डकी प्रदेश सभाको बैठकमा बोल्दै सांसद् थापाले अविश्वासको प्रस्ताव अशोभनीय भएको बताउनुभयो । उहाँले भन्नुभयो – ‘अविश्वासको प्रस्ताव मैले पढेँ, साँच्चे यहाँ लेखेका कुरा सत्य छन् त, सबै मान्यहरुले छातीमा हात राखेर एकपटक सोचौँ, चिसो पानीले मुख धोएर ऐना हेरेर छातीमा हात राखेर समीक्षा गर्नुहोला ।’
अविश्वास प्रस्ताव पूर्वाग्रहको दस्तावेज रहेको भन्दै उहाँले प्रस्ताव असफल पार्नुको विकल्प नभएको बताउनुभयो । सत्तापक्ष भन्दा पनि मुख्यमन्त्रीले प्रतिपक्षलाई प्राथमिकता दिएपनि गुलीया कुरा गरेर मुख्यमन्त्रीलाई धोका दिइएको आरोप लगाउनुभयो । ‘प्रतीपक्ष साथीहरुले मुखमा राम राम बगेलीमा छुरा लिएर हिड्नुभयो, त्यसको मुुल्यांकन गर्नुपर्छ कि पर्देन ? अहिले नगरेपनि जनताले पछि पक्कै मुल्यांकन गर्छन्’– उहाँको भनाइ छ ।
अविश्वास प्रस्ताव फाटेको धोती जस्तै रहेको पनि उहाँले टिप्पणी गर्नुभयो । मुख्यमन्त्रीविरुद्ध भएको षड्यन्त्र जनताले चिर्नेमा आफूहरु विश्वस्त रहेको बताउँदै उहाँले भन्नुभयो – ‘एउटा मात्र हिउँदले जाँडो जाँदैन, चुनाव फेरि पनि आउँदैछ, डेढ वर्षपछिको चुनावमा गण्डकीका जनताले हिसाबकिताब गर्छन् ।’
अविश्वासको प्रस्तावमा उठाइएका पाँच बुँदाहरु वाइहात र तथ्यहिन रहेको कृष्णबहादुरले दावी गर्नुभयो । ‘अविश्वासको प्रस्ताव आग्रह, पूर्वाग्रहले मात्र प्रेरित छैन अप्राकृतिक, राजनीतिक अखण्डन र मात्र सत्तालिप्सामा यो केन्द्रित छ, हामी सबैले यो कुरा सगौरब भन्न सक्छौ’ – कृष्णबहादुरले भन्नुभयो ।
महामारीका बेला अविश्वास प्रस्तावका नाममा भन्दै प्रदेश सभा बैठक बोलाउनु ठिक नभएको उहाँले बताउनुभयो । ‘अहिले कोरोनाले छटपटाइरहेका बिरामीले पाउनुपर्ने के हो ? अक्सिजन भेन्टिलेटर र सुविधा सम्पन्न अस्पतालका वार्डहरु पाउनुप¥यो, तर आज यो अविश्वासको प्रस्ताव अक्सिजन र भेन्टिलेटर लिएर आएको छैन, कोरोनाका बिरामीहरुका लागि यो अविश्वास प्रस्ताव कात्रो बनेर आएको छ’– उहाँको भनाइ छ ।
