काठमाडौं । लुम्बिनी प्रदेशमा सूर्य चिन्ह लिएर चुनाव जितेका दुई जना प्रदेश सभा सदस्यले नेकपा एमालेलाई धोका दिएका छन् ।
सूर्य चुनाव चिन्ह लिएर कपिलवस्तु–२ (२) बाट निर्वाचित धर्मबहादुर श्रीवास्तव र नवलपरासी पश्चिम निर्वाचन क्षेत्र–१ (२) बाट निर्वाचित अजय शाहीले एमालेलाई दिएको समर्थन फिर्ता लिनुभएको हो । उहाँहरु दुबै जना कांग्रेस–माओवादी गठबन्धनमा लाग्नु भएको छ । धर्मबहादुर र अजयले हृदयेश त्रिपाठीको स्वतन्त्र राजनीतिक समूहको तर्फबाट एमालेको समर्थनमा सूर्य चिन्ह लिएर चुनाव जित्नु भएको थियो ।
श्रीवास्तवले आफूहरुले सांसद् पदबाट राजीनामा नदिने तर एमालेलाई समर्थन नगर्ने बताउनुभयो । ‘हामीले सांसद् पदबाट राजीनामा दिएका होइनौं, एमालेलाई दिएको समर्थन फिर्ता लिएर संयुक्त गठनबन्धनलाई समर्थन गरेका हौँ’ – उहाँले भन्नुभयो ।
सूर्य चिन्हबाट चुनाव लडेको भए पनि हालसम्म आफूहरुले एमालेको सदस्यता नलिएको श्रीवास्तवले बताउनुभयो । एमाले संसदीय दलको बैठकमा जाँदा समेत आफूहरुले उपस्थितिमा स्वतन्त्र राजनीतिक समूह भनेर हस्ताक्षर गर्ने गरेको श्रीवास्तवले बताउनुभयो । तीन वर्ष बढी हुँदा पनि एमालेले आफूहरुलाई कुनै जिम्मेवारी नदिएकाले समर्थन फिर्ता लिएको उहाँले बताउनुभयो । ‘हामी त राजनीति गर्ने मान्छे, हामीलाई पनि कुनै न कुनै जिम्मेवारी चाहियो, पार्टीमा समेत प्रवेश गराएको छैन भने हामीले के गर्ने ? त्यसैले मुख्यमन्त्री शंकर पोखरेलको साथ छाडेर संयुक्त गठबन्धनलाई समर्थन गरेका हौँ’– श्रीवास्तवको भनाइ छ ।
नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता शंकर पोखरेललाई प्रदेश प्रमुख प्रमुख धर्मनाथ यादवले आइतबार दिउँसो मुख्यमन्त्री नियुक्त गरिसक्नुभएको छ । माओवादी–कांग्रेस गठबन्धनले आफ्नो पक्षमा ४२ जना प्रदेश सभा सदस्य रहेको र सरकार बनाउन बहुमत पुगेको भन्दै प्रदेश प्रमुखको कार्यालयमा दावी पत्र दर्ता गरेको छ । गठबन्धनले माओवादीका प्रदेश सभा सदस्य कुलबहादुर केसीलाई मुख्यमन्त्री बनाउनुपर्ने दावी प्रस्तुत गरेको छ ।
धर्मबहादुर र अजयले दोहोरो खेल खेल्नुभएको छ । एमाले संसदीय दलका नेता शंकर पोखरेलाई मुख्यमन्त्री बनाउने प्रस्तावमा आज बिहान धर्मबहादुर र अजयले हस्ताक्षर गर्नुभएको थियो । तर आजै दिउँसो माओवादीका कुलबहादुरलाई मुख्यमन्त्री बनाउने प्रस्तावमा पनि उहाँहरुले हस्ताक्षर गर्नुभएको छ ।
यसअघि आज नै एमालेकी सांसद् बिमला ओली माओवादीमा प्रवेश गर्नुभएको थियो ।
