काठमाडौं । कोभिड १९ महामारीका बेला औषधी खरीदको विषयमा सरकार र प्रधानमन्त्रीलाई अनावश्यक रुपमा हिलो छ्यापिएकोमा केपी शर्मा ओलीले क्षोभ प्रकट गर्नुभएको छ ।
प्रतिनिधि सभाको अधिवेशनमा विश्वासको मत माग्न प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्रीले यस्तो परिस्थितिमा आज हामी स्थिरता र स्थायित्वका साथ एकतावद्ध भएर राष्ट्र जनताले देख्ने र अनुभव गर्ने गरी लागेको हुनुपर्नेमा त्यसो नभएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘कारण जेसुकै होस् तर हाम्रा गतिविधि, चिन्तन र ध्यान जे कुरामा केन्द्रित हुनपर्थ्यो त्यो हुन सकेन ।’
यस्तो बेलामा भ्रष्टाचार गर्ने कसैलाई छुट नहुने, कडा कारवाही हुने प्रधानमन्त्रीले बताउनुभयो ।
प्रधानमन्त्री र सरकार माथि हिलो छ्याप्ने, औषधीको खरिद गर्ने कुरामा भ्रष्टाचार भयो भनेर उछाल्ने काम भएको बताउनुभयो ।
‘यहाँ त प्रधानमन्त्रीले अनअफिसियल कागजमा हस्ताक्षर गरेको भनेर प्रचार गरिन्छ । त्यस्तोमा प्रधानमन्त्रीको हस्ताक्षर स्क्यान गरेर जोडिन्छ । त्यो समेतका खेल नेपालमा हुन्छन् । हामी यति सारो तल झर्नुहुँदैन । यति तलसम्म नझरौं ।’
कोभिडको दोस्रो लहरको सामना गर्न सरकारले अस्पताल स्थापना, सिलिण्डर व्यवस्थापन, भ्याक्सिन लगायतका काम गरिरहेको बताउनुभयो । ।
‘जनताको जीवन रक्षा पहिलो कुरा हो’– प्रधानमन्त्रीले भन्नुभयो– ‘यस्तो महामारीको साझा संकटको बेला पनि कसैले भ्रष्टाचार गर्छ भने हामी कसैलाई पनि छाड्दैनौँ ।’
