काठमाडौं । प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवाको पहिलो वाक्य थियो– ‘विश्वासको मत पाउँदिन भन्ने थाहा पाउँदापाउँदै प्रधानमन्त्रीले विश्वासको मत पाउनुभएको छ ।’
प्रधानमन्त्रीले राख्नुभएको विश्वासको मत माग्ने प्रस्तावमा छलफल गर्दै देउवाले भन्नुभयो– ‘देश अत्यन्त अप्ठेरो अवस्थामा छ ।’ देउवाले लिखित भाषण पढ्नुभएको थियो ।
अहिलेको परिस्थितिका लागि प्रधानमन्त्री ओली स्वयं जिम्मेवार हुनुभएको देउवाले बताउनुभयो । उहाँले भन्नुभयो– ‘प्रतिपक्षीको रुपमा हामीले रचनात्मक र सहयोगी भूमिका निर्वाह गर्यौं । त्यसका लागि हामी आलोचित पनि भयौं ।’
‘आफू कार्यकारी प्रधानमन्त्री हुने, अनि अरुमाथि दोष थुपार्ने । अरुमाथि दोष थुपारेर प्रधानमन्त्री भाग्न मिल्छ ?’– देउवाको प्रश्न थियो ।
कोभिड महामारी नियन्त्रण र रोकथाममा सरकारले कुनै काम नगरेको, सरकार सचेत र गम्भीर नदेखिएको देउवाको दावी थियो ।
यो तीन वर्षमा सरकार पूर्ण असफल भएको देउवाले बताउनुभयो ।
विज्ञले दिएको चेतावनीलाई सरकारले नसुनेको भन्दै उहाँले भन्नुभयो– ‘कमिशनका कारण खोप आउन नसकेको सार्वजनिक भइसकेको छ । जनताको जीवन जोगाउने औषधीमा पनि भ्रष्टाचार गर्नु अपराध हो ।’
‘आफ्ना जनताको लागि अक्सिजनको समेत व्यवस्थापन गर्न नसक्ने प्रधानमन्त्रीले भाषणमा आत्मरती र आत्मप्रसंशा गर्नु विडम्बना बाहेक के हुन्छ ?’– देउवाले भन्नुभयो । प्रतिनिधि सभा सदस्य पदको सपथ नै नलिई ओली प्रधानमन्त्री बन्नुभएको स्मरण गर्दै देउवाले भन्नुभयो– ‘संविधानको वाध्यात्मक व्यवस्थालाई लत्याउने काम भयो । प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक फरक दलको हुनु पर्ने कुरालाई उल्लङ्घन गरिएको छ ।’
सर्वोच्च अदालतको प्रतिनिधि सभा पुर्नस्थापति गर्ने फैसला पछि प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्नेमा प्रधानमन्त्रीले त्यो नगर्नुभएकोमा देउवाले क्षोभ प्रकट गर्नुभयो ।
‘हुकुमी शैलीमा शासन चलाउने काम भयो । अध्यादेश मार्फत शासन सञ्चालन गर्ने स्थिति देखा पर्यो’– उहाँको आरोप थियो ।
संविधान कार्यान्वयनमा सरकार असफल बएको दावी गर्दै प्रमुख प्रतिपक्षी नेता देउवाले भन्नुभयो– ‘संविधान अनुसार तत्काल बनाउनु पर्ने कानुन अझै सरकारले बनाउन सकेको छैन । जसले गर्दा स्थानीय सरकारले जुन रुपमा काम गर्नु पर्ने गर्न सकेका छैनन् । मौलिक अधिकार कार्यान्वयनका कानुन बनेका छैनन् ।’
सरकारले देशको हितमा काम गर्न नसकेको, काभिड नियन्त्रणमा अससफल भएको, लोकतान्त्रिक व्यवस्थालाई आँच पुर्याउने काम गरेको हुँदा देश संकटमा परेको देउवाले बताउनुभयो ।
मन्तब्यको अन्त्यमा देउवाले ओलीले विश्वासको मत पाउन नसक्ने भन्दै नयाँ सरकार गठनको बाटोमा अघि बढ्नुपर्ने बताउनुभयो । विश्वासको मतको विपक्षमा मत दिने पनि उहाँले जानकारी गराउनुभयो ।
