काठमाडौं । स्थान मेरियट होटल काठमाडौं । होटलको एउटा कोठा । कोठामा एकजना पात्र । ती पात्र प्रधानमन्त्री केपी शर्मा ओली । उहाँ दोस्रो पात्रको प्रतिक्षामा हुनुहुन्थ्यो ।
त्यहाँ के भयो ? प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा बैठकमा भन्नुभयो– ‘अस्ति नै एकजना मित्रसँग एउटा होटलमा भेटघाट थियो ।’
प्रधानमन्त्रीले भन्नुभएको त्यो होटल मेरियट नै थियो । प्रतिक्षाका पात्र हुनुहुन्थ्यो माधवकुमार नेपाल । माधव नेपाल नआइपुगुन्जेल आफूले धरहरा हेरेको प्रधानमन्त्रीले प्रतिनिधि सभा बैठकमा बताउनुभयो ।
उहाँले सबै कुरा प्रष्ट बताउनुभएन तर बताएको कुराबाट सहजै बुझ्न सकिन्छ । मेरियट होटलबाट आकाशे दुरी एक किलोमिटर जतिमा छ होला धरहरा । मेरियटको झ्यालबाट धरहरा देखिँदो रहेछ ।
प्रधानमन्त्रीले माधवको नाम भन्नुभएन ।
त्यो भेटमा ओली र माधवको भेटको तस्विर सार्वजनिक भएको थियो । तस्विर खिच्नुभएको थियो प्रधानमन्त्रीका फोटोग्राफर राजन काफ्लेले । फोटोमा दुईजनाले धरहरातिर हेरिरहेको प्रष्ट देखिन्थ्यो ।
त्यो फोटोले सानोतिनो तहल्का नै मच्चयो । तहल्का तब बढ्यो जब भेटमा ओलीले आफूलाई धरहरा देखाएकोमा आक्रोश व्यक्त गर्दै माधवले भाषण गर्नुभयो । त्यही तहल्काले निरन्तरता पायो आज प्रधानमन्त्री ओलीको भाषणमा ।
मेरियटको त्यो भेटबारे ओलीले भन्नुभयो– ‘यहाँबाट पनि सजिलो र राम्रोसँग देखिँदो रैछ धरहरा भनें । उहाँले पछि भन्नुभयो– मलाई धरहरा देखायो । धरहरा देखाउन नहुने हो र ? अचम्म लाग्यो मलाई ।’
‘मैले सामान्य कुरा गरेको थिएँ’– प्रधानमन्त्रीले भन्नुभयो ।
कतिपयले तयार भइनसक्दै धरहरा उद्घाटन गरेको आरोप लगाएको भन्दै प्रधानमन्त्रीले भन्नुभयो– ‘तयार नै नभई म टुप्पामा कसरी गएँ ? म लिफ्ट चढेरै गएको थिएँ । तयार भएको नभएको बाहिरबाटै देखिन्छ त हौ ! २० तला माथि गएर फूल वृष्टि गरेको थिएँ ।’
उहाँले भन्नुभयो– ‘धरहरा बनेको छैन भन्ने जो जो माननीयलाई लाग्छ, भोलि जानुस् र चढ्नुस् ।’
‘धरहरा उद्घाटन गरियो । परपरैबाट देखिन्छ । अनि त्यसमा दुःखमनाउ किन ?’– ओलीको अर्काे प्रश्न थियो ।
