काठमाडौं । वाग्मती प्रदेश सभामा विपक्षी दलका नेता शालिकराम जम्कट्टेलले वाग्मती प्रदेश सरकारलाई संघीय सरकारको जस्तो लोकप्रिय बजेट नल्याउन चेतावनी दिनुभएको छ ।
वाग्मती प्रदेश सभाको बैठकमा सोमबार बोल्दै उहाँले संघ सरकारले सामाजिक सुरक्षा भत्ता र कर्मचारीको तलब बढाउने जस्ता लोकप्रिय बजेट ल्याएको भन्दै आलोचना गर्नुभयो । ‘त्यस्तो बजेट ल्याउनुभयो भने कुनै पनि हालतमा पास हुन दिँदैनौँ, जस्तो सुकै प्रतिवाद गर्नु परे पनि तयार छौँ’, उहाँले भन्नुभयो । कोभिड नियन्त्रणका लागि प्रदेश सरकारले अझै बढी तदारुकता लिनु पर्नेमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले अलि बढी तदारुकता देखाओस्, प्रचारको लागि होइन परिणाममा देखाउने गरी काम गरोस् ।’
उहाँले प्रदेश सरकालाई विधिसम्मत काम गर्न पनि आग्रह गर्नुभयो । राम्रा काम भए पनि विधि मिचेर गरिने कामको समर्थन गर्न नसकिने उहाँले बताउनुभयो । पक्षपातपूर्ण काम नगर्न उहाँले सरकारलाई सुझाव दिनुभयो ।
जिल्ला जिल्लामा संक्रमित बढेको अवस्थामा अक्सिजनको पर्याप्त व्यवस्था गर्न उहाँले आग्रह गर्नुभयो । ‘हामीले पनि अक्सजिन उपलब्ध गराउन सहयोग गरिरहेका छौँ, काठमाडौं जाँदा पनि अहिले अस्पतालमा बेड पाईँदैन’,उहाँले भन्नुभयो ।
उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यवस्था र संविधान विरोधी भएको आरोप लगाउनुभयो । व्यवस्था र संविधान जोगाउनु सबैको दायित्व रहेको उहाँले बताउनुभयो ।
