काठमाडौं । नेकपा एमालेकी नेतृ एवं वाग्मती प्रदेश सभा सदस्य अष्टलक्ष्मी शाक्यले सत्तापक्ष र प्रतिपक्ष मिलेरै सदनलाई व्यस्थित बनाएर अघि बढाउनु पर्ने बताउनुभएको छ ।
सोमबार वाग्मती प्रदेश सभा बैठकमा बोल्दै उहाँले प्रतिपक्षी दलका आवाजलाई समेत सम्बोधन गरेर जान सक्यो भने मात्र प्रदेश सभा र लोकतान्त्रिक गणतन्त्र संस्थागत भएर अघि बढ्ने बताउनुभयो । प्रतिपक्षीको सुझाव जस्तोसुकै तितो भए पनि ग्रहण गर्न उहाँले सरकारलाई सुझाव दिनुभयो ।
यतिबेला लोकतन्त्र र संघीयता बलियो हुनपर्नेमा धरापमा परेको उहाँले बताउनुभयो । लोकन्तन्त्र कमजोर भयो भने संघ र प्रदेश पनि कमजोर हुने उहाँले बताउनुभयो ।
आफ्नै पार्टीका नेता र केन्द्र सरकारको आलोचना गर्दै उहाँले अहिले संविधान नै संकटमा परेको बताउनुभयो । जनताको विषयमा छलफल गर्ने सर्वोच्च थलो प्रतिनिधि सभा विघटन भएको उहाँले बताउनुभयो ।
गणतन्त्र, संविधान, अखण्डता सत्तामा बसेकै नेतृत्वको कारणले अप्ठेरोमा परेको उहाँले बताउनुभयो । लहड र दम्भमा कसैले पनि संविधान र व्यवस्था प्रति धावा बोल्न नहुने उहाँले बताउनुभयो ।
फरक प्रशंगमा उहाँले प्रदेशमा कोभिडको कारण कसैको पनि ज्यान जाने अवस्था नआओस् भन्दै सरकारलाई सुझाव दिनुभयो । त्यसको लागि चहिने अक्सिजन र खोपको व्यवस्था गर्न उहाँले प्रदेश सरकारलाई आग्रह गर्नुभयो । ‘सम्पूर्ण नीति होस्, बजेट होस्, कोभिडलाई नियन्त्रण गर्न वाग्मती प्रदेश उदाहरणीय होस्’, उहाँले भन्नुभयो ।
