काठमाडौं । गण्डकी प्रदेश सरकारले कोभिड रोकथाम, नियन्त्रण तथा उपचारलाई पहिलो प्राथमिकतामा राखेर बजेट ल्याउने भएको छ ।
सोमबार प्रदेश सभा बैठकमा प्रदेश सरकारको विनियोजन विधेयक, २०७८ का सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले आगामी आर्थिक वर्षको बजेट कोभिड–१९ को विश्वव्यापी महामारीका कारण श्रृजित चुनौतीको सामना गर्दै जनजीवनलाई सामान्यकृत बनाउन र वर्तमान सरकारले अगाडि बढाएको विकास, सुशासन र समृद्धिको मार्गमा देखा परेका असरलाई निराकरण गर्दै प्रादेशिक अर्थतन्त्रलाई गतिशील तुल्याउन केन्द्रित रहने बताउनुभयो ।
महामारीको दोस्रो लहरबाट हुन सक्ने क्षति र असरलाई कम गर्न यसको रोकथाम, नियन्त्रण र औषधी उपचार तथा सबै नागरिकलाई खोप उपलब्ध गराउने सम्बन्धी व्यवस्थालाई पहिलो प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम ल्याइने उहाँले जानकारी दिनुभयो ।
महामारीबाट प्रभावित भएको अर्थतन्त्रलाई गतिशील र चलायमान बनाई पुनः पहिलेकै अवस्थामा फर्काउन सार्वजनिक खर्चलाई व्यवस्थित गर्दै आर्थिक, भौतिक तथा सामाजिक पूर्वाधार विकासका क्षेत्रमा स्रोत र साधनलाई केन्द्रित गरिने उहाँले बताउनुभयो ।
प्रदेश सरकारले कोभिड–१९ लगायत अन्य महामारीको रोकथाम, नियन्त्रण र उपचारका लागि स्वास्थ्य प्रणालीलाई सवल एवं सुदृढ गर्ने जनाएको छ । आधारभूत स्वास्थ्य सेवामा सबैको सरल र सहज पहुँच सुनिश्चित गर्दै गुणस्तर अभिवृद्धि गर्न आवश्यक बजेट व्यवस्था गरिने भएको छ । होम आइसोलेसनमा बसेकालाई आवश्यक मेडिकल सेवा उपलब्ध गराइने भएको छ । प्रदेशका सबै नागरिकको लागि खोप उपलब्ध गराउन नेपाल सरकारसँग समन्वय गरी प्रबन्ध मिलाइने र कोभिड अस्पतालहरूमा पर्याप्त अक्सिजनको व्यवस्था गरिने भएको छ ।
कोभिडका कारण प्रभावित व्यवसायलाई जीवन्तता दिन सञ्चालित व्यवसाय जीवन रक्षा कोष कार्यक्रमलाई निरन्तरता दिइने भएको छ । कोभिडका कारण सहारा गुमाएका परिवारलाई रोजगारी र बालबच्चाको शिक्षा दीक्षाको आवश्यक व्यवस्था गर्ने कार्यक्रम सरकारले ल्याउने भएको छ ।
कृषि तथा पशुपन्छी बीमा प्रिमियममा सहुलियत उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिने भएको छ । कृषि उपजको उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गरिने भएको छ ।
सुन्तला, कागती, स्याउ, अदुवा, बेसार, आलु, लोकल कुखुरा, गाईभैंसी, भेंडा बाख्रा, च्याङ्ग्रा, आदिको पकेट क्षेत्र घोषणा गरी संरक्षण र विकास कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।
पर्यटन क्षेत्रको समग्र विकासको गुरूयोजना निर्माण गरी पर्यटन पूर्वाधार तथा प्रवर्धन कार्यक्रम सञ्चालन गरिने भएको छ । पर्यटन क्षेत्रमा काम गर्ने श्रमिकहरूका निम्ति विशेष कार्यक्रम ल्याइने भएको छ ।
