काठमाडौं । गण्डकी प्रदेश सभामा राष्ट्रिय जनमोर्चाका प्रदेश सभा सदस्य कृष्ण थापाले गण्डकी प्रदेशमा कांग्रेस र माओवादी मिलेर निर्दलीयता लाद्न लागेको बताउनुभएको छ ।
प्रदेश सभा बैठकमा बोल्दै सांसद् थापाले गण्डकीमा आफू सरकारमा पुग्नकै लागि कांग्रेस–माओवादीले निर्दलीयता अपनाउन खोजेको उहाँले बताउनुभयो । बैठकमा बोल्दै उहाँले भन्नुभयो, ‘गण्डकी प्रदेशमा आफू सत्तामा पुग्नको लागि, अर्को पक्षलाई हराउनको लागि फेरि निर्दलियता अपनाईँदै छ, कृष्ण थापालाई हटाएर फेरि हामी सत्तामा जान सक्छौँ भनेर लाग्नु भएको छ, यो निर्दलियता हो, अर्काको अस्तित्व स्वीकार्न नसक्ने चरित्र हो ।’
जनताबाट निर्वाचित सांसद्लाई सम्मान गर्न नसक्ने चरित्र कांग्रेस–माओवादीमा नदेखिएको उहाँले बताउनुभयो । उहाँले निर्वाचित जनप्रतिनिधिको अस्तित्व स्वीकार गर्न आग्रह पनि गर्नुभयो ।
कांग्रेस–माओवादी गठबन्धनको पक्षमा हस्ताक्षर नगरेको भन्दै उहाँलाई जनमोर्चाले संसदीय दलको नेताबाट हटाएको छ । उहाँलाई सांसद् पदबाट हटाउन कांग्रेस–माओवादीले जनमोर्चालाई दबाब दिइरहेका छन् । थापाले सो गठबन्धनको पक्षमा हस्ताक्षर नगर्नु भएकै कारण विपक्षी गठनबन्धनले सरकारको विरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर पुर्याउन सकेन ।
संघीय संसद् विघटनको विरुद्ध धेरै सांसद् अदालत जानुभएको बताउँदै उहाँले आफ्नो हक, हित, अधिकारको लागि अदालत जानु स्वभाविक भएको बताउनुभयो । त्यसलाई अन्यथा मान्न नसकिने उहाँले बताउनुभयो ।
आफ्नो अधिकार खोज्न अदालत जानेले अरुको अधिकार पनि स्वीकार्नु पर्नेमा थापाले जोड दिनुभयो । ‘आफूलाई पर्दा अदालत जानु पर्ने अर्कालाई चाहीँ अदालत बन्द गर्ने ? यसको इतिहासले मूल्याङ्कन गर्ने छ’, उहाँले भन्नुभयो ।
