काठमाडौ । सुदूरपश्चिम प्रदेश सरकारले स्वास्थ्य संक्रमणका कारण उत्पन्न चुनौतीको सामना गर्ने गरी स्वास्थ्य संस्थाको विकास गर्ने कुरालाई आगामि वर्षको बजेटको प्रमुख उद्देश्य बनाएको छ ।
सोमबार प्रदेश सभा बैठकमा विनियोजन विधेक २०७८/७९ का सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले जनताको जीवनस्तरमा गुणात्मक विकास गर्दै जाने बजेट तथा कार्यक्रमको अर्को उद्देश्य रहेको बताउनुभयो । कृषिमा आधुनिकीकरण, पूर्वाधारको सन्तुलित विकास र जनताको पहुँच सुनिश्चिताको ग्यारेन्टि गर्ने बजेट तथा कार्यक्रमको प्राथमिकता रहेको उहाँले बैठकमा जानकारी दिनुभयो ।
वनजन्य वस्तुको उत्पादन तथा सेवाको विकासमा प्रदेश सरकारले जोड दिने भएको छ । त्यसैगरी पर्यटकीय गन्तव्य निर्माण गर्ने तर्फ बजेट केन्द्रित हुने भएको छ । आधुनिक पर्यटन पूर्वाधार निर्माण र विकासमा प्रदेश सरकारले जोड दिने भएको छ ।
लगानी सम्बन्धि कानुन बनाई लगानीमा जोड दिने सरकारले बताएको छ । प्रदेश आयोजना बैंक बनाएर विकासका कामलाई सरकारले अघि बढाउने भएको छ ।
कोभिड नियन्त्रणको लागि विद्यमान स्वास्थ्य प्रणालीमा व्यापक सुधार गर्ने सरकारले जनाएको छ । रोग नियन्त्रणका लागि सामुदायिक स्वास्थ्य प्रणालीको विकास गरिने भएको छ ।
युवालाई रोजगार बनाउन आवश्यक सिप प्रदान गरिने भएको छ । परम्परागत पेशा व्यवसायलाई प्रवर्धन गर्ने कार्यक्रमको लागि सरकारले बजेट विनियोजन गर्ने भएको छ । विशेष पकेट क्षेत्रको विकास गरी कृषिलाई व्यवसायीकरण गर्ने प्रदेश सरकारले जनाएको छ ।
प्रदेश सरकारले यसै वर्ष सञ्चार नीति बनाएर कार्यान्वयन गर्ने भएको छ । सञ्चार माध्यमसँग सहकार्य गर्ने कार्यक्रम प्रदेश सरकारले ल्याउने भएको छ ।
भूमि वैँकको अवधारणालाई कार्यान्वयनमा ल्याई भूमिको चक्लावन्दीलाई सरकारले जोड दिने भएको छ । सहकारी र सामूहिक खेतीलाई प्रोत्साहन गरिने भएको छ ।
