काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले राजनीतिमा सहमति र समझदारीको आधार खोज्नु पर्नेमा जोड दिनुभएको छ ।
प्रदेश–१ को प्रदेश सभा बैठकलाई सोमबार सम्बोधन गर्दै मुख्यमन्त्री राईले एउटै ठाउँमा उभिएर राष्ट्रिय अभिभारा पूरा गर्ने अठोटका साथ सबै दल अगाडि बढ्न सकून् भन्ने शुभकामना दिनुभयो ।
देशको राजनीतिक असाध्यै संक्रमणको अवस्थामा रहेको उहाँले बताउनुभयो । ‘हामी सोझा बाटोमा छैनौँ, असाध्यै बाँङ्गोटिङ्गो बाटोमा छौँ, आफ्नै कारणले चिप्लिने, र लड्ने अवस्थामा पुग्न सक्छौँ, यसबाट सबै जोगिनु पर्छ’, उहाँले भन्नुभयो ।
राईले संघीय व्यवस्था माथि नै विभिन्न कोणबाट प्रश्न उठेकाले यस विषयमा सबैलाई गम्भीर हुन आग्रह गर्नुभयो । विकास समृद्धि सबैको चाहना भएकोले त्यसैलाई आधार मानेर अगाडि बढ्न उहाँले सबैमा आग्रह गर्नुभयो । संघीयतालाई मजबुद बनाउने जिम्मा अहिलेका निर्वाचित जनप्रतिनिधीको काँधमा रहेको राईले बताउनुभयो ।
कोभिडले सबैको होस हवास उडाएको र सबैलाई रनथन्याएको उहाँले बताउनुभयो । ‘कोभिडले होस हवास उडायो अन्यत्र कतै सोच्न नै पाइएन, कोभिड १९ बाट थुप्रै पाठ सिकेको छ’, राईले भन्नुभयो ।
कोभिड महामारीकै कारण पूर्वबजेट माथिको छलफल समयमा गर्न नसकिएको राईले बताउनुभयो । कोभिड महामारीले डरलाग्दो अवस्था भएको कारण समयमा छलफल चलाउन नसकिएको उहाँले बताउनुभयो । कोभिडको बीचमा पनि प्रदेशमा विकास निर्माणका काम अघि बढिरहेका उहाँले बताउनुभयो । त्यसैगरी कोभिड नियन्त्रण, रोकथाम तथा उपचारका लागि पनि निरन्तर काम भइरहेको उहाँले बताउनुभयो ।
उहाँले नयाँ खोप आउने क्रममा रहेकोले त्यसलाई व्यवस्थित तरिकाले लगाउने प्रबन्ध मिलाइने बताउनुभयो । उहाँले केन्द्र सरकारले दिएर होस् वा प्रदेश सरकारले आफैले किनेर होस् नागरिकलाई खोपको व्यवस्था मिलाउने जानकारी दिनुभयो ।
उहाँले विगतको वर्षको जस्तो बजेट आउने वर्ष नबन्ने बताउनुभयो । आउने वर्षको बजेट यथार्थपरक र कार्यान्वयन हुने खालको आउने राईले बताउनुभयो ।
अहिले संचित कोषमा एक पैसा पनि बचत नभएकोले सरकार निक्कै आर्थिक दवावमा रहेको उहाँले बताउनुभयो । त्यसैले नयाँ ठूला कार्यक्रम अघि बढाउने अवस्था नरहेको उहाँले प्रष्ट पार्नुभयो ।
केन्द्रीय राजनीतिको असर प्रदेशमा पनि परेको उहाँले बताउनुभयो । जसको असर प्रदेश सभाले भोगिरहेको राईको भनाइ छ ।
प्रदेश राजधानीको नामको विषयले यस पटकको प्रदेश सभा बैठकमा प्रवेश पाउने उहाँले बताउनुभयो । बसेर छलफल गरेर प्रदेशको नाम टुंग्याउनु पर्ने उहाँको भनाइ छ ।
