काठमाडौं । स्थानीय तहको सशर्त अनुदानको विषयमा भएको विवादको कारण स्थागित भएको प्रदेश २ को प्रदेश सभा बैठक अनिश्चित बनेको छ ।
विपक्षी सांसदले सो विषयमा विरोध जनाएपछि आजको बैठक स्थगित भएको थियो । बैठक स्थगित भएपछि आयोजना गरिएको सर्वदलीय बैठक निष्कर्षमा पुग्न नसकेपछि बैठक अनिश्चित बनेको हो ।
मंगलबारको प्रदेशसभा बैठक सुरू हुने वित्तिकै तीनवटै प्रतिपक्षी दलका सांसदले विरोध जनाउनुभएको थियो । प्रदेश सभा सदस्यको सिफारिसमा अनुदान रकम पठाउनु पर्ने उहाँहरुको माग छ ।
तर सरकारले सो बजेट स्थानीय सरकारलाई सशर्त अनुदानको रुपमा पठाएको छ । सशर्त अनुदानको रकम जुन शीर्षकमा पठाएको हो सोही शीर्षकमा खर्च गर्नुपर्छ । अन्य शीर्षकमा खर्च गर्न मिल्दैन ।
सभामुख सरोज यादवले बैठक सुरु गर्ने वित्तिकै प्रदेश सभा सदस्यले सो विषयमा मुख्यमन्त्री लालबाबु राउतले जवाफ दिनुपर्ने माग राख्नु भएको थियो । त्यस पछि आधा घण्टाको लागि बैठक स्थगित गरिएको थियो ।
बैठक स्थगित गरी आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादव सहित प्रतिपक्षी दलका नेतासँग बसेको बैठक विनानिष्कर्ष टुंगिएको छ । भोलि फेरि सर्वदलीय बैठक बस्ने सहमति भएको छ । सर्वदलीय बैठकमा कुरा नटुंगिएसम्म प्रदेश सभा बैठक अनिश्चित भएको छ ।
