लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक
काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
मंगलबार प्रदेश सभा बैठकमा प्रदेश प्रमुख धर्मनाथ यादवले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । त्यस्तै कृषि, पर्यटन र रोजगारी पनि सरकारका प्राथमिकतामा रहेका छन् ।
सरकारको नीति तथा कार्यक्रममा पहिलो प्राथमिकतामा स्वास्थ्य रहेको छ । विभिन्न स्थानमा सुविधासम्पन्न अस्पताल बनाउने सरकारले कार्यक्रम ल्याएको छ । यसैगरी आयुर्वेदीक चिकित्सालाई समेत सरकारले नीति तथा कार्यक्रममा प्राथमिकतामा राखेको छ ।
कृषि क्षेत्रको प्रवर्धनको लागि सरकारले विशेष कार्यक्रम ल्याउने भएको छ । पशुपालन, वायोग्यास उत्पादन प्रदेश सरकारको प्राथमिकतामा परेको छ । कृषिमा सुलभ कर्जा र ब्याज अनुदानलाई सरकारले प्राथमिकतामा राखेको छ ।
भूमि बैंक मार्फत जग्गा उपयोग गर्न चाहनेलाई प्रोत्साहन गरिने भएको छ । कृषिमा युवालाई प्रोत्साहित गर्न सरकारले विशेष कार्यक्रम ल्याउने भएको छ । यसै गरी सडक लगायतका पूर्वाधार निर्माणलाई पनि आउने आर्थिक वर्षको बजेट तथा कार्यक्रममा सरकारले प्राथमिकतामा राखेको छ । प्रदेशको स्थायी राजधानीको गुरुयोजना निर्माण गरी डिपीआर तयार गरेर निर्माणको कामलाई अघि बढाउने सरकारले नीति तथा कार्यक्रम ल्याएको छ ।
यसै बीच प्रदेश प्रमुखले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा माओवादी, कांग्रेस, जसपा र जनमोर्चाका सांसद्ले सांकेतिक रुपमा बैठक वहिष्कार गर्नुभएको थियो । बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका प्रमुख सचेतक मात्र उपस्थित उपस्थित हुनुभएको थियो ।
विपक्षी गठबन्धनले प्रदेश प्रमुखले विधि मिचेर मुख्यमन्त्री शंकर पोखरेललाई नियुक्त गरेको आरोप लगाएको छ । त्यसैको विरोधमा नीति तथा कार्यक्रम वहिष्कार गरेको उहाँहरुको भनाइ छ । गठबन्धनको तर्फबाट मंगलबार नै संयुक्त विज्ञप्ति जारी गरी संविधान र विधिसम्मत ढंगले सरकार सञ्चालन गर्न माग गरेका छन् ।
