काठमाडौं । प्रतिपक्षीको अवरोधका कारण स्थगित भएको प्रदेश २ को प्रदेश सभा बैठक बुधबारबाट सुचारु भएको छ ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्थानीय तहमा पठाएको सशर्त अनुदानको योजना सच्याउने प्रतिवद्धता पछि बैठक सुचारु भएको हो । मुख्यमन्त्रीले नै बोल्नु पर्छ भन्ने कुरा आएपछि आफू बैठकमा बोल्न आएको उहाँले बताउनुभयो ।
उहाँले संसदीय विकास कोष होस् वा सशर्त र अन्य सबै बजेट समयमा नै स्थानीय तहमा पुग्नु पर्ने बताउनुभयो । बैठकलाई सम्बोधन गर्दै विभिन्न कारणले गर्दा समयमा नै बजेट खर्च हुननसकेको उहाँले बताउनुभयो ।
उहाँले प्रदेश सभा सदस्यबाट आएका योजनालाई प्राथमिकतामा राख्न आफूले मातहतका निकायलाई निर्देशन दिएको बताउनुभयो । ‘न्यायोचित किसिमले माननीयज्यूहरुले दिनुभएको योजना सम्बोधन हुननसक्नु दुःखद कुरा हो’, उहाँले भन्नुभयो ।
उहाँले रोष्टरमा बोलेका कुरालाई इमान्दारीताका साथ पालना गर्नु पर्ने बताउनुभयो । यसमा ध्यान दिन उहाँले आर्थिक मामिला तथा योजना मन्त्रीलाई निर्देशन पनि दिनुभयो ।
उहाँले प्रदेश सभा सदस्यको मागलाई सम्बोधन गरिने बताउनुभयो । अब पी बजेटको छलफलमा लाग्न पनि उहाँले प्रदेश सभा सदस्यलाई आग्रह गर्नुभयो ।
