काठमाडाैं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज विश्वासको मत लिँदै हुनुहुन्छ ।
आज मध्याह्न १२ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री गुरुङले विश्वासको मतका लागि प्रस्ताव पेस गर्न गर्नुहुने कार्यसूची रहेकाे प्रदेश सभा सचिवालयले जनाएकाे छ । मुख्यमन्त्री गुरुङले जेठ २५ गते विश्वासको मत लिने प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गराउनु भएकाे थियाे ।
मुख्यमन्त्री गुरुङलाई एमालेबाट मात्र विश्वासकाे मत पुग्दैन । अरु दलले मत दिने सम्भावना पनि कम छ । गण्डकीमा हाल ६० जना सांसद् छन् । जसमा एमालेका २७ जना सांसद् छन् । तीमध्ये माधव गुटका एक सांसद् हुनुहुन्छ । उहाँ सांसद् मुख्यमन्त्री गुरुङकै पक्षमा छन् ।
यसअघि मुख्यमन्त्रीकै पक्षमा रहनुभएका स्वतन्त्र सांसद् दीपक मनाङ्गे अहिले कतै खुल्नुभएकाे छैन । कांग्रेस, माओवादी, राष्ट्रिय जनमोर्चा र जसपा अर्थात विपक्षी गठबन्धनले मुख्यमन्त्रीकाे विपक्षमा मत दिन ह्वीप जारी गरिसकेकाे छ । तर जनमोर्चाका सांसद् कृष्ण थापा मुख्यमन्त्रीकाे पक्षमा हुनुहुन्छ ।
प्रदेश सभामा कांग्रेसका १५, माओवादीका सभामुखसहित १२, जनमोर्चाका ३, जसपाका २ र एक स्वतन्त्र सांसद् छन् । बहुमतका लागि ३१ सांसद् चाहिन्छन् ।
त्यसाे त विपक्षी गठबन्धनमा पनि बहुमत पुग्न कठिन छ । किनकी जनमाेर्चाका सांसद् एक मत छैनन् । यद्यपि दीपक मनाङ्गेले साथ दिएमा विपक्षी गठबन्धनलाई बहुमत पुग्ने देखिन्छ । विपक्षी गठबन्धनबाट कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई भावी मुख्यमन्त्रीका रुपमा अगाडि सारिएको छ ।
मुख्यमन्त्रीबाट राजीनामा दिनुभएका गुरुङ विपक्षीले बहुमत जुटाउन नसकेपछि वैशाख २९ गते ठूलो दलको हैसियतमा पुन: मुख्यमन्त्री नियुक्ति हुनुभएकाे थियाे । मुख्यमन्त्री नियुक्त भएको १ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
