काठमाडाैं । ‘केन्द्र सरकारको रिसले गण्डकीमा सरकार फेर्न खाेज्नु गलत हाे, केपी ओलीसँग कुरा मिलेन भनेर पृथ्वीसुब्बा गुरुङसँग रिस फेर्नु राम्रो होइन'- नेकपा एमाले गण्डकी प्रदेश सभाका प्रमुख सचेतक मायानाथ अधिकारीले भन्नुभयाे ।
प्रदेश सभामा बिहीबार प्रस्तुत विश्वासको मत सम्बन्धी प्रस्तावमाथि आफ्नाे विचार राख्दै मायानाथले त्यसाे भन्नुभएकाे हाे । केन्द्र सरकारकाे रिस प्रदेश सरमारमाथि पाेखेर सरकार ढाल्न खाेज्नु गलत भएकाे उहाँले बताउनुभयाे । मायानाथले प्रश्न गर्नुभयाे -'केपी ओलीलाई गाली गर्न पर्याे भने पृथ्वी सुब्बाले गरेका राम्रा कामकाे विराेध गर्ने ? काठमाडाैंमा पानी परे पाेखरामा छाता ओड्नुपर्ने ? यस्ताे पनि हुन्छ ?'
एमाले सहकार्य र समझदारीमा अगाडि बढ्न तयार रहेका बेला सहमति विथाेल्न खाेजिएकाे उहाँले बताउनुभयाे । जनताको म्याण्डेट कांग्रेसलाई मुख्यमन्त्री बनाउने नरहेको भन्दै अधिकारीले माओवादी अप्राकृतिक गठबन्धनका लागि तयार भएको बताउनुभयाे ।निषेधकाे राजनीति धेरै समय नटिक्ने पनि अधिकारीले बताउनुभयाे ।
काेभिड महामारीका बेला सत्ताकाे खेलमा लाग्नु ठिक नभएकाे उहाँले बताउनुभयाे । प्रदेश सरकारले धेरै काम गरेपनि विराेधका लागि मात्र विराेध गरिएकाे उहाँले बताउनुभयाे । 'सरकारले केही नगरेकाे भए काेभिड कसले राेकथाम गरिरहेकाे छ ? विकास निर्माण कसले गरिरहेकाे छ ? जनअपेक्षा अनुसार नभए हाेला तर विकासकाे गति राेकिएकाे छैन, प्रदेश सरकारले कानुन बनाउनेदेखि धेरै काम गरेकाे'- मायानाथले भन्नुभयाे ।
काेभिडका बेला विश्वास र अविश्वासकाे खेल पछि खेल्दा पनि हुने भन्दै उहाँले प्रदेश सरकारलाई कातम गर्न दिनुपर्ने बताउनुभयाे । उहाँले प्रश्न गर्नुभयाे - 'पहिला जनता बचाउने कि ? मुख्यमन्त्री फेर्ने खेल खेलिरहने ?'
सरकारलाई गाली गर्नेहरु जनताका पक्षमा बाेल्न नसकेका उहाँले बताउनुभयाे । 'एकले अर्कालाई गाली गर्ने बाहेक हामीले जनताप्रति के गरेका छाैं ? तपाईंले जनप्रतिनिधिका हिसाबले के गर्नुभयाे ? सरकारलाई गाली गरेर उम्किन पाइन्छ ?'- मायानाथकाे प्रश्न छ । जनता न्यायाधिश रहेका भन्दै उहाँले कसले कति काम गरेकाे छ भन्ने हेरिरहेका बताउनुभयाे ।
