काठमाडौं । गण्डकी प्रदेशका प्रदेश प्रमुख सीताकुमारी पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएकाे छ ।
गण्डकी प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ (५) बमोजिमको सरकार गठनका लागि बहुमतको आधार प्रस्तुत गर्न दलहरुलाई आह्वान गर्नुभएकाे हाे । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सभामा विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुखले वैकल्पिक सरकार गठनका लागि आह्वान गर्नुभएकाे हाे ।
मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न प्रदेश प्रमुख पाैडेलले २९ गते दिउँसाे ३ बजेसम्मको समय दिनुभएकाे छ ।
विपक्षी गठबन्धनले कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीका रुपमा अघि सारेकाे छ । मुख्यममन्त्री नेपालीकाे बहुमत पुग्ने गठबन्धनकाे दाबी छ ।
बिहीबार बसेकाे प्रदेश सभामा विश्वासकाे मत पाउन नसकेपछि मुख्यमन्त्री गुरुङकाे पद गुमेकाे थियाे । उहाँकाे पक्षमा २७ र विपक्षमा ३० मत परेकाे थियाे । सभामुखसहित ६० सदस्य रहेकाे प्रदेश सभामा राष्ट्रिय जनमाेर्चाका सांसद् कृष्ण थापा तटस्थ बस्नुभएकाे थियाे । स्वतन्त्र सांसद् दीपक मनाङे भने प्रदेश सभामा सहभागी हुनुभएन ।
