काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल प्रदेश सभामा आफ्नो बहुमत गुमेको अवस्थामा एक मिनेट पनि सरकारमा नबस्ने बताउनुभएको छ ।
प्रदेश सभामा शुक्रबार सरकारको नीति तथा कार्यक्रमका बारेमा धारणा राख्दै मुख्यमन्त्री पोखरेलले संसद् भित्रको राजनीतिक गणितमा आफूले सँधै विश्वास गर्ने बताउनुभयो । बैठकमा पोखरेलले प्रतिपक्षीले सरकार र प्रदेश प्रमुखलाई अनावश्यक विवादमा तानेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।
प्रदेश सभाका चार जना सदस्यको सन्दर्भमा अदालतले आदेश जारी गरेको अवस्थामा त्यसको पनि लेखाजोखा हुने उहाँले बताउभयो । ‘राजनीतिक रुपमा अल्पमतमा परेपछि एक मिनेट पनि सरकारमा रहनुहुन्न भन्ने पक्षमा छु’, उहाँले भन्नुभयो ।
संविधान र कानुन अनुसार भएका कामलाई समेत विवादित बनाउने काम प्रतिपक्षीले गरेको उहाँले बताउनुभयो । प्रदेश प्रमुखमाथिको आरोपले संसदीय व्यवस्थालाई नै कमजोर बनाउने उहाँले बताउनुभयो ।
उहाँले राष्ट्रिय राजनीतिका उथलपुथलले प्रदेश सभालाई पनि प्रभावित पारेको बताउनुभयो । जनताले दिएको म्यानडेट पूरा गर्न नसक्दा जनताको बीचमा जान समेत अप्ठेरो हुने उहाँले बताउनुभयो । राजनीति भित्र अस्वस्थताको प्रवेशले कसैलाई पनि फाइदा नहुने उहाँले बताउनुभयो ।
आफू मुख्यमन्त्री नियुक्त भइसकेपछि बहुमत पुर्याएको दाबी गर्नुको कुनै अर्थ नभएको उहाँले बताउनुभयो । यस विषयलाई लिएर प्रदेश प्रमुखको आलोचना हुनु दुःखद भएको उहाँको भनाइ छ ।
प्रदेश प्रमुखले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा विपक्षी दलका सांसदले प्रदेश सभा बैठक वहिष्कार गर्नुभएको थियो । विपक्षी दलका सचेतक बाहेक सबै बाहिरिँदा पनि सरकार पक्षका ४२ जना सांसद् बैठकमा बसेर सरकारको बहुमत पुनः प्रमाणित गरेको पोखरेलले बताउनुभयो । प्रदेश सभामा अहिले ८३ जना सांसद् हुनुहुन्छ ।
मुख्यमन्त्री पोखरेलले सरकारको नीति तथा कार्यक्रम मूलः कोभिड नियन्त्रण र उपचारमा नै केन्द्रित रहेको बताउनुभयो । यसैगरी पूर्वाधार पर्यटन विकास, कृषी उत्पादन र बजारीकरण लगायतका कार्यक्रम पनि प्राथमिकतामा रहेको उहाँले बताउनुभयो ।
प्रदेश सभाले प्रदेशको नाम र स्थायी राजधानी तोक्ने महत्वपूर्ण काम सम्पन्न गरेको उहाँले बताउनुभयो । यो वर्षको नीति कार्यक्रमले प्रदेशको स्थायी राजधानीको गुरुयोजना तयार गरी काम अघि बढाउने कुरा समेटेको उहाँले बताउनुभयो ।
