काठमाडाैं । वाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने धम्की दिनुभएकाे छ ।
शुक्रबार बसेकाे प्रदेश सभा बैठकमा कांग्रेस सांसद् बैद्यले नाथुराम गाेड्से बनेर प्रधानमन्त्री ओलीलाई मार्ने धम्की दिनुभएकाे हाे । आफू प्रधानमन्त्री ओलीविरूद्ध नाथुराम गोड्से बन्न तयार रहेकाे असंवेदनशील अभिव्यक्ति वैद्यले दिनुभएकाे हाे ।
'प्रधानमन्त्री ओलीले आफ्नाे सत्ता बचाउन जे कुरामा पनि सम्झाैता गरिराखेकाे छ, याे समयमा यदि खड्क ओलीलाई यसरी नै छाेड्ने हाे भने देशै खाइदिन्छ है, त्यसैले मेराे आग्रह यो देश बचाउन नाथुराराम गोड्से आवश्यक पर्याे, यदि कोही थाथुराम गाेड्से बन्न तयार छैन भने मै बन्दिन्छु'- वैद्यले भन्नुभयाे ।
महात्मा गान्धीका हत्यारा नाथुराम गोड्से उदाहरण दिँदै वैद्यले प्रधानमन्त्रीको हत्या गर्न तयार छु भन्दै निन्दनीय अभिव्यक्ति दिनुभएकाे हाे । सरकारमा बसेपछि लम्पसारवाद बन्ने प्रवृत्ति देखिएकाे पनि वैद्यले बताउनुभयाे । यति बाेलेपछि वैद्यले विषय माेड्नुभयाे ।
प्रधानमन्त्री विरुद्ध वैद्यकाे अभिव्यक्तिकाे चाैतर्फी आलाेचना भएकाे छ । उहाँलाई कडा कारबाही गर्न माग गरिएकाे छ ।
आफू ट्याम्पाेमा चढ्दा त्यहाँ बसेका यात्रुहरुले देश बिगार्ने नेताहरुलाई १-१ गरेर ठाेकिदिने भन्ने गरेकाे सुनाउँदै वैद्यले भन्नुभयाे - 'कहिलेकाहीँ ट्याम्पुमा चढ्दा त्यहाँ बस्ने साथीहरूले कुराकानी गर्छन्, नेताहरूले देश यस्तरी बिगारे, उनीहरूलाई भेटे भनेँ १-१ लाई सिध्याइदिन्थेँ, यस्तो सुनेपछि विस्तारै आफूसँग भएको लोगो गोजीमा हाल्थेँ, अनि जुन गन्तव्यमा जानुपर्ने हो, त्यहाँ भन्दा अगाडि नै ओर्लन्थेँ, अहिले देशको अवस्था त्यस्तै बनाइदिए ।' याे प्रशंग सकिनासाथ वैद्यले प्रधानमन्त्री विरुद्ध अमर्यादित अभिव्यक्ति दिनुभएकाे हाे ।
