काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ज्यान लिने अभिव्यक्ति दिनुभएको वाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले आफ्नो अभिव्यक्ति फिर्ता लिनुभएको छ ।
नेपाली कांग्रेसबाट निर्वाचित प्रदेश सभा सदस्य वैद्यले शनिबार प्रदेश सभा बैठक सुरु हुने वित्तिकै सभामुखसँग समय मागेर आफ्नो अभिव्यक्ति फिर्ता लिँदै आत्मालोचना गर्नुभएको थियो ।
संसदमा मनमा लागेको कुरा दिल खोलेर बोल्न पाउने थलो भएको बताउँदै उहाँले दिल खोलेर आफ्नो विचार राख्ने क्रममा भावावेसमा आएर आफूले बढी बोलेको वैद्यले स्वीकार्नु भयो । उहाँले आफ्नो प्रधानमन्त्रीसँग कुनै व्यक्तिगत रिशइवी नभएको बताउनुभयो । वैद्यले भावावेसमा आएर स्वतन्त्रताभन्दा बढी बोलेको स्वीकार्नु भयो । ‘आवश्यकता भन्दा बढी नै स्वतन्त्रताको उपभोग गरेको मैले आफैँले फिल गरेँ’, बैठकमा बोल्दै उहाँले भन्नुभयो ।
उहाँले आफू महात्मा गान्धीको अनुयायी र हिंसा विरोधी व्यक्ति भएको बताउनुभयो । आफूले बोलेको उक्त अभिव्यक्ति फिर्ता लिँदै संसद्को रेकर्डबाट हटाउन उहाँले अनुरोध गर्नुभयो ।
उहाँले अभिव्यक्ति फिर्ता लिएको बताएपछि सभामुखले सो अभिव्यक्तिलाई प्रदेश सभाको रेकर्डबाट हटाउन आदेश दिनुभएको थियो ।
