काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सबैलाई आफ्नो मर्यादा आफैँ कायम गर्न आग्रह गर्नुभएको छ । वाग्मती प्रदेश सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममा उठेको विषय माथि बोल्दै उहाँले प्रदेश सभामा सबै खारिएका व्यक्ति आउने भएकोले कसैले कसैलाई सम्झाउन आवश्यक नरहेको बताउनुभयो । ‘आफ्नो मर्यादा आफै कायम गरौँ, कसैले कसैलाई सम्झाउनु पर्दैन, हामी सबै खारिएर र पार्टीले पत्याएर आएका छौँ’, बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो ।
संसदीय मूल्य मान्यतालाई कुल्चिएर धेरै अघि बढ्ने काम भएको उहाँले बताउनुभयो । प्रधानमन्त्रीको ज्यान लिने धम्की दिनुभएका प्रदेश सभा सदस्य नरोत्तम वैद्यले अभिव्यक्ति फिर्ता लिएको बताए पनि त्यो पार्टीले भनेको कारण मात्र लिएको अभिव्यक्ति आएको उहाँको भनाइ छ । उहाँमा त्यस्तो अभिव्यक्ति प्रति कुनै पनि हीनतावोध नभएको उहाँले बताउनुभयो ।
केपी ओली देशको प्रधानमन्त्री र आफ्नो पार्टीका नेता भएकोले उहाँलाई आफूले सम्मान गर्ने पौडेलले बताउनुभयो । ‘म केपी ओलीलाई मान्छु, मेरो नेतालाई अपमान गरेको म सहन सक्दिन’, उहाँले भन्नुभयो ।
उहाँले राम्रा कुरालाई प्रदेश सरकारले सधँै सम्मान गर्ने बताउनुभयो । तर केही कुरा बुझेर वा बुझपचाएर पनि आएका उहाँले बताउनुभयो ।
तीनवटै तहका सरकारको सहअस्तित्व, सहकार्य र समन्वय संविधानले नै गरेको कुरा भएको बताउँदै तीनै तहको सरकारको समन्वय वेगर संघीय संरचना नै अघि नबढ्ने उहाँले बताउनुभयो । उहाँले कसैलाई मन परे पनि नपरे पनि उहाँले सरकार सरकार नै भएकोले सबैले मान्नु पर्ने बताउनुभयो ।
कोभिड महामारी नियन्त्रण र खोपको लागि प्रदेश सरकार लागि रहेको बताउँदै खोप कहाँ पाइन्छ भन्ने विषयमा प्रदेश सरकारले कुरा गरिरहेको बताउनुभयो ।
सस्तो लोकप्रियताको लागि धेरै कुरा गर्न सकिने भए पनि प्रदेश सरकारले कार्यान्वयन गर्न सकिने गरी मात्र नीति तथा कार्यक्रम ल्याएको उहाँले बताउनुभयो ।
उहाँले प्रदेश सरकारले सडक, शिक्षा र स्वास्थ्यको क्षेत्रमा आमूल परिवर्तनको काम गरेको बताउनुभयो । विकटका मान्छे हिँड्न समेत नसक्ने भिरपाखामा सडक पुगेको उहाँले सम्झाउनुभयो ।
हरेक अस्पतालमा पीसीआर मेशिन र अक्सिजन प्लाण्ट जडान हुने अवस्थामा पुगेको उहाँले बताउनुभयो । अबको १५ दिनमा प्रदेशका सबै अस्पतालमा अक्सिजन प्लान्ट जडान भइसक्ने उहाँले जानकारी दिनुुभयो । त्यस्तै आस्पतालमा अवश्यक जनशक्तिको पनि प्रदेश सरकारले उचित व्यवस्थापन गर्ने उहाँले बताउनुभयो ।
मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले विद्युतीय बस सञ्चालन गरेरै छाड्ने बताउनुभयो । ५० वर्ष अघि ल्याएको ट्रली बस सफल नभएको उदाहरण दिएर आज सरकारले नागरिकलाई सेवा दिने काम गर्नु हुँदैन भन्नु गलत बुझाई भएको उहाँले बताउनुभयो । धेरै अध्ययन गरेर मात्रै विद्युतीय बस सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो ।
बस खरिदको लागि ग्लोबल टेण्डर भएको उहाँले जानकारी दिनुभयो । पाँच वर्षसम्म होल कस्ट बस दिने कम्पनीले नै व्यहोर्ने तथा १० वर्षसम्म मर्मतको सबै खर्च कम्पनी व्यहोर्ने भएकोले विद्युत बस सञ्चालन गर्न सकिने उहाँले दाबी गर्नुभयो ।
उहाँले कमिसनको कुरा गरेर सरकारको कामलाई धमिल्याउने प्रयास नगर्न पनि आग्रह गर्नुभयो । विद्युतीय बस खरिदमा कसैले कमिसन खाएको पुष्टि भएमा ठाउँको ठाउँ कारबाही गर्ने उहाँले बताउनुभयो ।
उहाँले संघीय सरकारसँगको संयुक्त लगानीमा मात्र सुरुङ मार्ग निर्माणको काम अघि बढ्ने बताउनुभयो । वर्षको २ अर्ब रुपैँया प्रदेश सरकारले खर्च गर्दा चार वर्षमा सुरुङ मार्ग बन्ने उहाँले दाबी गर्नुभयो ।
