काठमाडौं । वाग्मती प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभा बैठकको बहुमतबाट स्वीकृत भएको छ ।
शनिबार बसेको प्रदेश सभा बैठकले सरकारको वार्षीक नीति तथा कार्यक्रम पास गरेको हो ।
यस अघि सरकारको नीति तथा कार्यक्रम माथि संशोधन प्रस्ताव पेस गर्ने प्रदेश सभा सदस्यलाई प्रस्ताव फिर्ता लिन सभामुखले समय दिनुभएको थियो । तर उहाँहरुले संशोधन प्रस्ताव फिर्ता लिन नमानेपछि प्रदेश सभामा निर्णयार्थ प्रस्तुत भएको थियो । उहाँहरुको संशोधन प्रस्ताव प्रदेश सभा बैठकको बहुमतले अस्वीकृत गरेको थियो । बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सभा बैठकमा सदस्यहरुले उठाएको राम्रा कुरालाई प्रदेश सरकारले सधैँ सम्मान गर्ने बताउनुभएको थियो । सभाका सदस्यबाट आएको सुझावलाई सरकारले ग्रहण गर्ने उहाँले बताउनुभयो ।
सरकारको नीति तथा कार्यक्रम पास भएसँगै शनिबारको प्रदेश सभा बैठक स्थगित गरिएको छ । अर्को बैठक असार १ गते बस्ने भएको छ ।
