काठमाडाैं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनुभएकाे छ ।
प्रदेश प्रमुख सीताकुमारी पौडेलले शनिबार संविधानको धारा १६८ को उपधारा ५ बमोजिम पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे हाे । कांग्रेस संसदीय दलका नेता समेत रहेका पोखरेलले आफूलाई मुख्यमन्त्री नियुक्ति गरियोस भन्दै गण्डकी प्रदेशका ३१ सांसद्सहित प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्नुभएकाे थियाे ।
कांग्रेसका १५, माओवादी केन्द्रका ११, जनमोर्चाका २, जसपाका २ र स्वतन्त्र सांसद् दीपक मनाङेले पाेखरेललाई समर्थन गर्नुभएकाे छ ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार विश्वासको मत पाउन नसकेएपछि प्रदेश प्रमुख पौडेलले शुक्रबार २४ घण्टाको समय दिँदै सरकार गठनका लागि आव्हान गर्नुभएकाे थियाे । साे अवधिमा मुख्यमन्त्रीकाे मात्र दाबी परेकाे प्रदेश प्रमुखककाे कार्यालयले जनाएकाे छ । यसअघि मुख्यमन्त्रीका लागि गुरुङले पनि दाबी पेस गर्नुभएकाे समाचार आएकाे थियाे । तर प्रदेश प्रमुख कार्यालयले भने नेपाली एक्ला दाबेदार भएकाे उल्लेख गरेकाे छ ।
