सर्लाही । नेपाली कांग्रेस सर्लाहीमा क्रियाशील सदस्याता वितरण तथा नवीकरणमा विवाद देखिएको छ ।
पार्टी जिल्ला सभापति नागेन्द्र कुमार रायलले सदस्यता वितरण तथा नवीकरणमा मनोमानी गरेको आरोप लागेको छ । केन्द्रीय सभापति शेरबहादुर देउवा निकट मानिनुहुने जिल्ला सभापति रायले स्वेच्छाचारी ढंगले क्रियाशील सदस्यता वितरण गर्नुभएकाे वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय नेताहरुले आरोप छ ।
पौडेल समूहका नेताहरुले आज हरिपुरमा पत्रकार सम्मेलन गरी असन्तुष्टि व्यक्त गर्नुभएको हो । जिल्ला सभापति रायमा निरकुंश प्रवृत्ति हाबी भएको पाैडेल पक्षकाे आरोप छ ।
पत्रकार सम्मेलनमा पूर्व पार्टी जिल्ला सभापतिहरु लक्ष्मण राय, सत्यदेव सिंह दनुवार, संविधान सभा सदस्य रामचन्द्र चौधरी, नेताहरु विनोद खनाल, नवीन अधिकारीलगायत सहभागी हुनुभएको थियो ।
पौडेल समूहका नेताहरुले अहिलेको गतिविधि पार्टी विधान विपरीत रहेका कारण पुराना कार्यकर्ताको मनोबल खस्कनुका साथै पार्टी सांगठनिक हिसाबले कमजोर हुने भएकाले आफ्ना कदमहरु तत्काल सच्याउन जिल्ला सभापतिसँग माग गर्नुभएको छ ।
क्रियाशील सदस्यता दिँदा वडा कमिटीबाट विभिन्न समिति हुँदै माथिल्लो निकायमा पुग्नुपर्ने भएपनि त्यसो हुन नसकेको नेताहरुको गुनासो छ ।
