काठमाडाैं । प्रदेश-१ सरकारको आर्थिक वर्ष ०७८-७९ काे नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
आइतबार बसेकाे प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम बहुमतले पारित भएकाे हाे । नीति कार्यक्रम पारित भएसँगै प्रदेश सरकारलाई बजेट ल्याउने बाटो खुलेको छ । सरकारले असार १ गते प्रदेश सभामा बजेट पेस गर्नेछ । प्रदेश सरकारले असार १ भित्र बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।
नीति तथा कार्यक्रममा कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले संशाेधन प्रस्ताव प्रस्तुत गरेका थिए । साे संशाेधन मुख्यमन्त्री शेरधन राईले फिर्ता लिन आग्रह गर्नुभएकाे थियाे । तर जसपाललेमात्रै फिर्ता लिएको थियो । यद्यपि संशाेधन प्रस्ताव ध्वनी मतले अस्वीकृत भएको थियो ।
नीति तथा कार्यक्रममाथि शुक्रबार र शनिबार छलफल भएको थियो । नीति तथा कार्यक्रममाथि उठेका प्रश्न र जिज्ञासाकाे मुख्यमन्त्री राईले आज नै जवाफ दिनुभएकाे थियाे । प्रदेश प्रमुख सोमनाथ अधिकारीले जेठ २७ गते प्रदेश सभामा प्रदेश सरकारका तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाे थियाे ।
