काठमाडौं । आज सात वटै प्रदेशले आगामी आर्थिक वर्ष ०७८-७९ काे बजेट सार्वजनिक गर्दै छन् ।
प्रदेशहरुले असार १ गते बजेट ल्याउनैपर्ने संवैधानिक प्रावधान छ । साेही अनुसार सातै प्रदेशले आज बजेट ल्याउन लागेका हुन् । सातै प्रदेशको नीति तथा कार्यक्रममा कोभिड-१९ महामारी नियन्त्रण, संक्रमितको उपचार लगायत स्वास्थ्य पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको छ । बजेट पनि काेभिड केन्द्रित नै आउनेछ ।
केन्द्र सरकारले प्रदेश सरकारका लागि १ खर्ब तीन अर्ब ७० करोड २५ लाख रकम छुट्याएको छ । साे रकमध्ये समानीकरणमा ५७ अर्ब ९५ करोड ४८ लाख, सशर्तमा ३५ अर्ब ८७ करोड ३१ लाख, विशेषमा ४ अर्ब १५ करोड, र समपूरकमा ५ अर्ब ७२ करोड ४६ लाख छ । अतिरिक्त राजस्व बाँडफाँट र रोयल्टी बाडँफाँटबाट पनि प्रदेशलाई रकम जाने व्यवस्था गरिएको छ । प्रदेशको आफ्नै स्रोतबाट पनि राजस्व परिचालन हुन्छ ।
आगामी वर्षका लागि वाग्मती प्रदेशले ५४ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी गरेकाे छ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २९ अर्ब रुपैयाँको हाराहारीमा बजेट ल्याउने तयारी गरेकाे छ । लुम्बिनी प्रदेशले ३८ अर्ब रुपैयाँको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ ।
