काठमाडौं । प्रदेश २ सरकारले कोभिड नियन्त्रण, रोकथाम तथा उपचारका लागि २० करोड रुपैँया बजेट विनियोजन गरेको छ । प्रदेश सरकारको बजेट सार्वजनिक गर्दै मंगलबार आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले सो कुराको जानकारी दिनुभएको हो ।
उहाँले प्रदेशका सबै अस्पतालमा कोभिडको उपचार व्यवस्था गरिने प्रदेश सभा बैठकलाई जानकारी दिनुभयो । मन्त्री यादवले अक्सिजन प्लान्ट र सिलिन्डर खरिदका लागि समेत बजेट व्यवस्था गरेको बताउनुभयो ।
प्रदेश २ सरकारले आर्थिक वर्ष ०७८/७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैँयाको बजेट ल्याएको जानकारी दिनुभयो । जस मध्ये चालूखर्च तर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार, पूँजीगत तर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार र वित्तीय व्यवस्थापनतर्फ १० करोेड बजेट रहेको छ ।
