काठमाडाैं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिँदै हुनुहुन्छ ।
आज विहान ११ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री पाेखरेलले विश्वासको मत लिन लाग्नुभएकाे हाे । मुख्यमन्त्री पाेखरेलले विश्वासको मत लिने सूचना प्रदेश सभा सचिवालयमा असार १ गते नै दर्ता गराइसक्नु भएकाे प्रदेश सभा सचिवालयले जनाएकाे छ ।
गत जेठ २९ गते प्रदेश प्रमुख सीता पौडेलले उहाँलाई संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्त गर्नुभएकाे थियाे । निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासकाे मत लिन नसकेपछि पाेखरेल मुख्यमन्त्री नियुक्त हुनुभएकाे हाे ।
संविधानको धारा १६८ (५) अनुसार नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । तर तर पोखरेलले भने मुख्यमन्त्री नियुक्त भएको एक सातामै विश्वासको मत लिन लाग्नुभएकाे हाे ।
मुख्यमन्त्री बन्न उहाँलाई जसपा, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद् दीपक मनाङेसहित ३१ सांसद्ले सर्मथन गरेका थिए । कुल ६० सदस्यीय प्रदेश सभामा राष्ट्रिय जनमोर्चाका कृष्ण थापा पदमुक्त भएपछि सांसद् संख्या ५९ कायम भएको छ । मुख्यमन्त्री पोखरेलले सरकार जोगाउनको लागि तत्काललाई ३० सांसद्को समर्थन भए पुग्छ ।
मुख्यमन्त्री पाेखरेलले विश्वासकाे मत पाउन नसके संवैधानिक व्यवस्था अनुसार प्रदेश सभा भंग गरी ६ महिनाभित्र चुनाव गर्नुपर्ने हुन्छ । मुख्यमन्त्रीले विश्वासकाे मत लिएपछि मात्र सदनमा बजेट माथिको छलफल सुरु गर्ने प्रदेश सरकारकाे तयारी छ ।
