काठमाडौं । गण्डकी प्रदेश सभाको बैठक सुरु भएको छ । प्रदेश सभा बैठकमा आज मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिँदै हुनुहुन्छ ।
मुख्यमन्त्री पोखरेलले आफ्नो सरकारले ल्याएको बजेट तथा कार्यक्रमले प्रदेशको समग्र विकास गर्ने दाबी गर्नुभएको छ । उहाँले विश्वासमो मत माग्दै नीति कार्यक्रम र बजेटलाई कार्यान्वयन गर्न आफूलाई विश्वासका मत दिन आग्रह गर्नुभयो ।
उहाँले संघियतालाई मजबुत बनाउन र राजनीतिक स्थिरताको लागि आफूलाई मतदान गर्न आग्रह गर्नुभयो । जनताले पाँच वर्षको लागि मतादेश दिएकोले त्यस अघि निर्वाचनमा जानु कुनै पनि किसिमले उपयुक्त नहुने बताउनुभयो । ‘प्रदेशलाई स्थीरता तर्फ लैजानको लागि यो सरकारलाई समर्थन गर्नुको विकल्पत छैन’, उहाँले भन्नुभयो ।
गत जेठ २९ गते प्रदेश प्रमुख सीता पौडेलले उहाँलाई संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो । निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिन नसकेपछि पोखरेल मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।
संविधानको धारा १६८ (५) अनुसार नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।
मुख्यमन्त्री बन्न उहाँलाई जसपा, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद् दीपक मनाङेसहित ३१ सांसद्ले सर्मथन गरेका थिए । कुल ६० सदस्यीय प्रदेश सभामा राष्ट्रिय जनमोर्चाका कृष्ण थापा पदमुक्त भएपछि सांसद् संख्या ५९ कायम भएको छ । मुख्यमन्त्री पोखरेलले सरकार जोगाउनको लागि तत्काललाई ३० सांसद्को समर्थन भए पुग्छ ।
मुख्यमन्त्री पोखरेलले विश्वासको मत पाउन नसके संवैधानिक व्यवस्था अनुसार प्रदेश सभा भंग गरी ६ महिनाभित्र चुनाव गर्नुपर्ने हुन्छ । मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्र सदनमा बजेट माथिको छलफल सुरु गर्ने प्रदेश सरकारको तयारी छ ।
