काठमाडाैं । गण्डकी प्रदेशमा निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जग बसाल्नु भएकाे छ, कसैले चाहेर पनि त्याे जग हल्लाउन सक्दैन, विस्थापित गर्ने सामर्थ्य राख्दैन'- एमाले प्रदेश सभा सदस्य कृष्णबहादुर थापाले भन्नुभयाे ।
शुक्रबार बसेकाे प्रदेश सभा बैठकमा विश्वासकाे मतसम्बन्धी प्रस्तावमाथिकाे छलफलमा बाेल्दै उहाँले वर्तमान सरकार साेही विकासकाे जगमा हिँड्ने विश्वास व्यक्त गर्नुभयाे । प्रमुख प्रतिपक्षी एमालेले सरकारलाई विश्वासकाे मत नदिने पनि उहाँले प्रष्ट पार्नुभयाे ।
निवर्तमान मुख्यमन्त्री गुरुङविरुद्ध बाेल्ने सत्तापक्षका सांसद्सँग गण्डकीका जनताले वदला लिने पनि सांसद् थापाले बताउनुभयाे । 'जाे हिजाे सत्तापक्षमा रहँदा उहाँ (पृथ्वीसुब्बा) सँग लामाे समय बिताउनुभयाे, जसकाे नेतृत्वमा गण्डकीमा विकासकाे कायापलट भयाे, उहाँ वैधानिक रुपमा सरकार बाहिर नआउँदै प्रदेश प्रमुखकाे कार्यालय अगाडि उहाँविरुद्ध बाेलिएकाे अभिव्यक्तिकाे गण्डकीका जनताले हिसाबकिताब खाेज्ने छन्' - थापाले भन्नुभयाे ।
प्रदेश प्रमुखकाे कार्यालय अगाडि गएर प्रदर्शन गरिएकाेमा थापाले असन्तुष्टि जनाउनुभयाे । यसबाट अहिलेकाे नेतृत्व आफै असक्षम भएकाे हाे कि भन्ने शंका उब्जाएकाे थापाले बताउनुभयाे । 'त्यसैले म र मेराे पार्टी सरकारलाई विश्वासकाे मत दिन सक्दैनाैं'- थापाले भन्नुभयाे ।
बाढी पहिराे पीडित प्रदेशबासीलाई तत्काल राहत र उद्धार गर्न पनि सांसद् थापाले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
