काठमाडाैं । गण्डकी प्रदेश एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले अवसरवादी गठबन्धनका रुपमा गठन भएकाे सरकारलाई विश्वासकाे मत दिन नसक्ने बताउनु भएकाे छ ।
शुक्रबार बसेकाे प्रदेश सभा बैठकमा विश्वासकाे मतसम्बन्धी प्रस्तावमाथि आफ्नाे विचार राख्दै उहाँले त्यसाे भन्नुभएकाे हाे । एमालेले शब्द र कुरा भन्दा काम र व्यवहारलाई ध्यान दिने उहाँले बताउनुभयाे । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेल परिपक्क र शालिन व्यक्ति भएपनि अवसरवादी गठबन्धनमा रहनुभएकाले विश्वासकाे मत दिन नसकिने गुरुङले बताउनुभयाे ।
विषयगत दायित्व र जिम्मेवारीका हिसाबले प्रदेश सरकारकाे कामले प्रदेश र प्रदेशबासीकाे गाैरवगाथा बढ्ने काममा एमालेले सहयाेग रहने उहाँले बताउनुभयाे । संघीयताकाे कार्यान्वयनमा कहाँ समस्या छ भनेर एमालेले वाच गरिरहने उहाँले बताउनुभयाे ।
हिजाे आफूहरु सरकारमा हुँदा जे गरेपनि निरपेक्ष रुपमा विराेध गर्ने संस्कार अहिले पनि रहेकाे भन्दै उहाँले भन्नुभयाे - 'हामी त्यस्ताे हाेइन प्रदेश र प्रदेशबासीकाे गाैरवकाे कुरा, संघीयता बलियाे भयाे भने मात्र लाेकतन्त्र बलियाे हुन्छ भन्ने भाव साथ हिँडे त्याे सहयात्रामा हाम्राे सहयाेग रहन्छ, संघीयताकाे कार्यान्वयन गर्ने काममा राम्राे कदम चाले प्रमुख प्रतिपक्षी दल हर माेर्चामा सहयाेग गर्न तयार छ ।' संघीयताको चर्को कुरा गर्ने तर भूमिका नखेल्ने प्रवृत्ति देखिएको भन्दै गुरुङले संघीयता कार्यान्वयनमा काठमाडौंका नेताहरुको मानसिकतामा समस्या रहेको बताउनुभयाे ।
असल शासनका लागि असल व्यक्ति चाहिने सिद्धान्तसाथ आफू नेतृत्वकाे सरकारले कर्मचारी नियुक्त गर्दा सक्षम व्यक्ति नियुक्त गरेकाे उहाँले बताउनुभयाे । त्यहाँ एमाले कांग्रेस र माओवादी भनेर कर्मचारी भर्ना नगरिएकाे उहाँले बताउनुभयाे । विगतकाे सरकारले गरेका काम र राम्रा कर्मचारी हटाउने काम वर्तमान सरकारले गरे एमालेले सहन नसक्ने उहाँले बताउनुभयाे । सिस्टम भत्काउने काम नगर्न उहाँले प्रदेश सरकारलाई सचेत गराउनुभयाे । शासकीय क्षमता र सिस्टम भत्काउन खोजे डटेर प्रतिवाद गर्ने उहाँले प्रष्ट पार्नुभयाे ।
