काठमाडौं । संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चकी प्रदेश सभा सदस्य विष्णु तुम्बाहाङ्फेले प्रदेश १ को नामाकरण पहिचानको आधारमा गरिनुपर्ने बताउनुभएको छ ।
सोमबार प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले प्रदेशको नाममा लिम्बुवान शब्द छुटाउन नहुने बताउनुभयो । उहाँले प्रदेशको नाम कोशी वा सगरमाथा राखिए स्थायी अशान्तिको बिउ रोपिने बताउनुभयो ।
केन्द्र सरकारले नयाँ जनमतको लागि चुनावको घोषणा गरिसकेको अवस्थामा प्रदेशको नामाकरण गर्नु उचित नहुने उहाँको तर्क थियो । प्रदेश २ मा नामाकरण नगर्दा हुने तर प्रदेश १ को नामाकरणमा चाहीँ किन हतारो भन्दै उहाँले प्रश्न गर्नुभयो । ‘पहिचान विरोधी नामाकरण गरियो भने यो भूमि र समुदाय प्रति गरिएको घोर अन्याय हुने छ’, उहाँले भन्नुभयो ।
प्रदेशको नामाकरणमा हतारो गर्नु संघीयता, लोकतन्त्र र गणतन्त्र समाप्त पार्ने षड्यन्त्र गर्नु भएको उहाँको आरोप छ । कोभिडको कारण जनतालाई घरभित्र थुनेर प्रदेशको नाम राख्न नहुने उहाँले बताउनुभयो ।
