काठमाडौं । कर्णाली प्रदेश सभाको मंगलबार बस्ने भनिएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ ।
प्रदेश सरकारले असार १ गते प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गरेपछि प्रदेश सभा बैठक अघि बढ्न सकेको छैन । बजेट तथा कार्यक्रम प्रस्तुत गरेपछि पटक पटक स्थगित भएको बैठक आज दुई बजेको लागि बोलाइएको थियो ।
आज बैठक नै नबसी सूचना टाँस गरेर बैठक स्थगित गरिएको छ । अर्को बैठक असार ११ गते दिउँसो दुई बजको लागि बोलाइएको सूचना टाँस गरिएको छ ।
प्रदेश सभामा एमालेका चार जना प्रदेश सभा सदस्य पुर्नवहाली भए पछि एमाले एकल बहुमतमा पुगेको छ । तथापि उहाँहरुको मुद्दाको अन्तिम टुंगो लागेको छैन । नेकपा एमालेले सरकारमा रहेका आफ्ना मन्त्रीलाई फिर्ता हुन निर्देशन दिइसकेको छ । तर ती मन्त्रीहरु फिर्ता भएका छैनन् ।
एमालेका अन्य प्रदेश सभा सदस्य प्रदेश सभा बैठकमा प्रतिपक्षी बेञ्चमा बस्ने गरेका छन् । तर एमालेबाट मन्त्री बनेका तीन जना भने सत्ता पक्षको बेञ्चमा बस्दै आएका छन् ।
