काठमाडाैं । कर्णाली प्रदेश सभाकाे आजकाे बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएकाे छ । अर्को बैठक असार १८ गते दिउँसो दुई बजे बस्ने गरी स्थगित भएको सभामुख राजबहादुर शाहीले जानकारी दिनुभयाे ।
बैठककाे सुरुमै एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले समय लिएर बाेल्नुभएकाे थियाे । एमाले संसदीय दलले निलम्बित गरेका तीन सांसद् बैठकमा प्रवेश गर्नु उचित नभएकाे कँडेलले बताउनुभयाे ।
एमालेले निलम्बनमा परेका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र भौतिक एवम शहरी विकास मन्त्री अम्मरबहादुर थापा बैठकमा सहभागी हुनुभएकाे थियाे । सर्वोच्च अदालतको आदेश अनुसार उहाँहरु एमालेको सांसद् भएको र दलीय आचरण अनुशरण गर्नुपर्ने कँडेलले बताउनुभयाे । दलीय आचरण अनुसार अघि नबढे स्वीकार्य नहुने नेता कँडेलले बताउनुभयाे ।
निलम्बित ३ जना सांसद्लाई संसदीय काम कारबाहीमा सहभागी गराउन नपाइने कँडेलले बताउनुभयाे । सर्वाेच्चले पुर्नबहाली गरेका ३ सांसद् प्रतिपक्षी भएकाे भन्दै यसअघि एमालेले सरकारबाट फिर्ता आउन निर्देशन दिएकाे थियाे । तर साे निर्देशन नमानेपछि उहाँहरु तीनै जनालाई एमालेले १ महिनाका लागि निलम्बन गरेकाे छ ।
'हामीले चाहेर वा खोजेर हारगुहार गरेरे होइन उहाँहरूलाई सर्वोच्च अदालतले नै एमाले संसदीय दलको सदस्यको हैसियतमा फर्काइदिएको हो, सर्वोच्चको आदेश अनुसार नै सभामुखज्यूले पत्र पढेर सुनाउनु भएको हो, साे पत्र अनुसार सभाभित्रको बसाइ व्यवस्थापन गर्न आवश्यक छ'- कँडेलले भन्नुभयाे ।
प्रदेश सभाभित्र एउटै दल सत्तापक्ष र प्रतिपक्ष हुन नसक्ने कँडेलले बताउनुभयाे । एमालेमा बस्न मन नलागे अर्कै बाटाे राेज्न कँडेलले आग्रह गर्नुभयाे । व्यवस्थाअनुसारका आसन नभए निर्दलीय चरित्रका व्यवहार गर्न उहाँले सभामुखलाई चुनाैती दिनुभयाे ।
