काठमाडाैं । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले एउटै दल सत्तापक्ष र प्रतिपक्ष हुन नसक्ने बताउनु भएकाे छ ।
एमाले संसदीय दलले निलम्बित गरेका माधव गुटका तीन सांसद् प्रदेश सभा बैठकमा सहभागी भएपछि कँडेलले विराेध गर्नुभयाे । आज बसेकाे प्रदेश सभा बैठककाे सुरुमै समय लिएर बाेल्दै कँडेलले निलम्बित सांसद् संसदीय काम र कारवाहीमा सहभागी हुन नपाइने बताउनुभयाे । व्यक्ति टिपेर सरकार बनाउने अधिकार छैन तर कर्णालीय यस्ताे भइरहेकाे छ ।
एमालेले निलम्बनमा परेका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र भौतिक एवम शहरी विकास मन्त्री अम्मरबहादुर थापा बैठकमा सहभागी हुनुभएकाे थियाे । एमालेमा बस्न मन भए पार्टीकाे निर्देशन मान्न र बस्न मन नभए अर्कै बाटाे राेज्न माधव गुटका सांसद्लाई कँडेलले चुनाैती दिनुभयाे ।
'सर्वोच्च अदालतले जेठ २७ गते अन्तरिम आदेश दिएर चार जनालाई एमालेमै फर्काइदिएको हो, प्रकाश ज्वाला आइसक्नुभएको छ, तीन जना अहिलेसम्म आउनुभएको छैन, हामीले तीन पटक उहाँहरूलाई दलको बैठकमा सहभागी हुन पत्र पठाइसक्याैं,तर आउनुभएन ।' सर्वोच्चको आदेश अनुसार उहाँहरु एमाले सांसद् भएकाले दलीय आचरण अनुशरण गर्नुपर्ने कँडेलले बताउनुभयाे ।
दलीय आचरण अनुसार अघि नबढे स्वीकार्य नहुने नेता कँडेलले चेतावनी दिनुभयाे । 'हामीले चाहेर वा खोजेर हारगुहार गरेरे होइन उहाँहरूलाई सर्वोच्च अदालतले नै एमाले संसदीय दलको सदस्यको हैसियतमा फर्काइदिएको हो, सर्वोच्चको आदेश अनुसार नै सभामुखज्यूले पत्र पढेर सुनाउनु भएको हो, साे पत्र अनुसार सभाभित्रको बसाइ व्यवस्थापन गर्न आवश्यक छ'- कँडेलले भन्नुभयाे ।
प्रदेश सभामा व्यवस्था अनुसारकाे व्यवस्थापन हुन नसकेकाे बताउँदै कँडेलले प्रश्न गर्नुभयाे - 'के कर्णालीमा निर्दलीय चरित्रकाे व्यवस्था कायम गर्न खाेजिएकाे हाे ?' त्यसाे हाे भने निर्दलीय चरित्रकै व्यवहार गर्नुस्, हाेइन भने व्यवस्था अनुसार व्यवस्थापन गरियाेस् ।'
