काठमाडौं । सभामुख अग्नीप्रसाद सापकोटाले लोकतन्त्रको लाभलाई जनस्तरसम्म पुर्याउन आवश्यक रहेको बताउनुभएको छ ।
संसद् दिवसको अवसरमा बुधबार शुभकामना सन्देश दिँदै सापकोटाले मौलिक ढंगले संसदीय परिपाटीको सञ्चालन गर्दै संसदलाई जीवन्त र जनमुखी बनाई लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरण गरी लोकतन्त्रको लाभलाई जनस्तरसम्म पुर्याउनु आजको आवश्यकता रहेको बताउनुभएको छ । संघ, प्रदेश र स्थानीय तहमा संसदीय अभ्यासलाई प्रभावकारी बनाउने दिशामा अघि बढ्दा मात्रै अनगिन्ती संघर्ष र आन्दोलनको बलमा निर्मित संविधान अनुरुप राज्य पुनर्संरचना र संघीय शासन प्रणालीको कार्यान्वयनमा बल पुग्ने उहाँले बताउनुभएको छ ।
यस बर्ष संसद दिवस मनाउँदा देशले चौतर्फी संकट व्यहोरी रहेको उहाँले बताउनुभएको छ । ‘कोभिङ संकट जारी रहँदा यस बीचमा संघीय संसद्, प्रतिनिधि सभाको दोस्रो पटक असंवैधानिक विघटन गरिएको अवस्था छ’, उहाँको सन्देशमा लेखिएको छ ।
गहिरिंदो राजनीतिक संकटका बीच मौसमजन्य विपत्तिको पनि सामना गर्नु परेको उहाँले बताउनुभएको छ । संविधान सभामार्फत् जनताका प्रतिनिधिले बनाएको संविधानको कार्यान्वयनको क्रममा प्रतिनिधि सभा माथि पटक–पटक हमला भएको उहाँले बताउनुभएको छ । यसले संसद् र संसदीय शासन प्रणालीमाथि नै प्रहारको आशंका उत्पन्न भएको उहाँले बताउनुभएको छ ।
वि.सं.२०१६ साल असार १६ गते नेपालमा संसदको पहिलो बैठक बसेको थियो । सोही दिनको स्मरणमा हरेक वर्ष यो दिन संसद् दिवस मनाउने गरिन्छ ।
