काठमाडाैं । राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेलले राजनीतिक विवादकाे समाधान राजनीतिक रुपमा नै हुनुपर्ने बताउनु भएकाे छ ।
आजदेखि सुरु भएकाे राष्ट्रिय सभाकाे आठाैं अधिवेशनकाे पहिलाे बैठकमा सम्बाेधन गर्दै सांसद् प्याकुरेलले राजनीतिक समस्याकाे समाधान राजनीतिक रुपमा नै हुनुपर्ने बताउनुभयाे । सरकारले काम गर्दागर्दै पनि अनेक असमझदारी सृजना गरिएकाे भन्दै उहाँले यसकाे अन्त्य हुनुपर्ने बताउनुभयाे ।
राजनीतिक विवादकाे अन्त्य राजनीतिक रुपमा नै गरिनुपर्ने भन्दै उहाँले राजनीतिक विवादकाे अन्त्य अन्तबाट खाेज्न थालिएकाे बताउनुभयाे । शक्ति पृथकीकरणकाे सिद्धान्त विपरित हरेक कुरा न्यायापालिकाबाट गर्न खाेजिएकाे भन्दै उहाँले यसबाट सचेत हुनुपर्ने बताउनुभयाे । 'प्रत्येक राजनीतिक समस्या समाधानकाे थलाे न्यायापालिका हुन सक्दैन आफ्नाे जन्मदेखि नै बहुदलीय प्रणालीमा प्रतिबद्ध भनिएका कतिपय राजनीतिक शक्ति अहिले संविधानकाे मर्म विपरित निर्दलीयताकाे वकालत गर्न खाेज्नु दुखद छ, त्यसैले सबैलाई सजग र सचेत हुन आग्रह गर्दछु' - उहाँले भन्नुभयाे ।
सांसद् प्याकुरेलले सरकारकाे प्रशंसा पनि गर्नुभयाे । । सरकारले बाढी पहिराे प्रभावितकाे उद्धार र राहतमा सरकारले सक्रियसाथ काम गरेकाे भन्दै उहाँले साे कार्यलाई थप प्रभावकारी बनाउन आग्रह गर्नुभयाे । संविधान कार्यान्वयनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले देखाउनु भएकाे तदारुकताकाे उहाँले प्रशंसा गर्नुभयाे ।
सरकारले चाँडै नै सबै नागरिकलाई खाेप लगाउने बताइएकाे भन्दै प्याकुरेलले भन्नुभयाे - 'निकट भविष्यमै सबै नेपालीलाई काेभिड खाेप लगाउन सरकारलाई सफलता मिलाेस् भन्ने शुभकामना दिन चाहान्छु । देश निर्माणकाे राेडम्याप सरकारले ल्याएकाे बजेटमा पनि उल्लेख रहेकाे उहाँले बताउनुभयाे ।
