काठमाडौं । प्रतिपक्षी दलको अवरोधका कारण शनिबारको वाग्मती प्रदेश सभा बैठक स्थगित भएको छ । विपक्षी दलहरु नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले शनिबारको बैठक अवरुद्ध गरेका हुन् । बैठकमा बजेटमाथिको छलफल प्रारम्भ भएपछि विपक्षी दलका नेताले बोलेर बैठक अवरुद्ध गरेका थिए ।
सरकारले सञ्चारगृह सञ्चालन, सुरुङमार्ग निर्माण, विद्युतीय बस खरिद लगायतको क्षेत्रमा बजेट छुट्याएको विरोधमा प्रतिपक्षी दलले बैठक अवरुद्ध गरेका हुन् ।
बैठकमा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेलले सशर्त अनुदानको बजेट नसच्याएसम्म छलफल अघि बढ्न नदिने बताउनुभयो । उहाँले सुरुङमार्ग र विद्युतीय बसमा छुट्याएको बजेट कटाउन माग गर्नुभयो ।
कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले बजेट पुस्तिका दुई ढंगको आएको बताउँदै उहाँले एउटै पुस्तिका बनाए नल्याएसम्म संसद् चल्न नदिने बताउनुभयो । उहाँले लोकतन्त्रमा सरकारले सञ्चारगृह चलाउन नहुने बताउनुभयो ।
विवेकशील साझा पार्टीका सांसद् रमेश पौड्यालले बजेटका दुईवटा पुस्तक छापेर संसद्को अपहेलना गरेको बताउनुभयो । विपक्षीको अवरोध पछि सभामुख सानुकुमार श्रेष्ठले बैठक स्थगित गर्नुभयो । स्थगित बैठक आइतबार बिहान ११ बजे बस्ने भएको छ ।
