काठमाडाैं । उपप्रधानमन्त्री तथा गृहमन्त्री विष्णुप्रसाद पाैडेलले सरकार विपद् जाेखिम न्यूनिकरणमा गम्भीर रहेकाे बताउनु भएकाे छ ।
आइतबार बसेकाे राष्ट्रिय सभा बैठकमा सांसद्हरुले उठाएका प्रश्नकाे जवाफ दिँदै गृहमन्त्री पाैडेलले मनसुनसँगै भित्रिएकाे बाढी,पहिराे र डुबान नियन्त्रणका लागि अत्यन्तै गम्भीर रहेकाे बताउनुभयाे ।
पीडितहरुकाे उद्धार गर्ने, राहत प्रदान गर्ने, क्षतिग्रस्त भाैतिक संरचनाकाे पुर्ननिर्माण गर्ने र तिनीहरुलाई सुचारु गर्ने अवरुद्ध सडक खुलाउने र यातायात खुलाउने जस्ताै कुरामा केन्द्रित भएर सरकारले काम गरिरहेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे - 'सरकार रमिते भएर हाेइन सरकार प्राेएक्टिभ भएर समास्यामा केन्द्रित भएर समाधानलाई केन्द्रविन्दुमा राखेर परिचालित भएकाे म निवेदन गर्न चाहान्छु ।'
सरकारले आफ्नाे स्राेत, साधन, शक्ति र संगठनात्मक संरचना सारा चिजलाई परिचालन गरेकाे छ । विपद् जाेखिम न्यूनीकरण तथा उद्धार र राहतका लागि कुनै प्रकारकाे कमी नहुने उहाँले बताउनुभयाे । उपप्रधान तथा गृहमन्त्री पाैडेलले विपद् समाधानका लागि केन्द्रीय सरकारले काम गरिरहेकाे र प्रदेश तथा स्थानीय तहसँग समन्वय गरेर काम गरिरहेकाे बताउनुभयाे ।
राहत र पुर्नस्थापनामा राजनीति भयाे भन्ने टिप्पणी एकदमै गलत भएकाे उपप्रधान तथा गृहमन्त्री पाैडेलले प्रष्ट पार्नुभयाे । उहाँले भन्नुभयाे - 'राहतमा, पुनर्स्थापनामा राजनीति भयो कि भन्ने यहाँहरूले टिप्पणी गर्नुभएको छ, म स्पष्ट गर्न चाहन्छु सरकार मानवीय प्रश्नमा राजनीति गर्न चाहँदैन, राजनीति गर्नका लागि अरू धेरै एजेण्डा छन्, मानवीय प्रश्नमा, राहत, उद्धारको प्रश्नमा, पुनर्स्थापनाकाे प्रश्नमा, विपद् जोखिम न्यूनीकरण गर्ने प्रश्नमा सरकार राजनीति गर्दैन ।'
स्वेच्छिक राहतमा सेलिब्रेटी स्टाइल प्रकट भएको स्वीकार गर्दै उहाँले यसलाई सरकारले व्यवस्थित गरेकाे बताउनुभयाे । यसलाई रोक्न स्वेच्छिक सहयोग गर्न चाहनेहरुले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत वितरण गर्नुपर्ने व्यवस्था गरेको मन्त्री पौडेलले जानकारी दिनुभयाे । केन्द्रिकृत र एकीकृत रुपमा राहत वितरण गरिने बताउनुभयाे ।
'राहत, सहुलियतको नाममा विभिन्न ढङ्गले भएका सहयोग सङ्गठित गर्ने सेलिब्रेटी स्टाइलमा केही–केही ठाउँमा प्रकट हुने गरेका छन्, अब सरकारको तर्फबाट हुने राहतलाई, सहयोगलाई हामी केन्द्रिकृत र एकीकृत योजना अन्तर्गत वितरण गर्छाैं, स्वेच्छिक रूपमा सहभागी हुन चाहनेहरूलाई पनि वान डोर सिस्टमबाट जिल्लाको सीडीओ कार्यालयमार्फत् वितरण गर्ने प्रणाली विकसित गरेका छौं, सरकार प्यासिभ होइन एक्टिभ छ ।'
प्राकृतिक विपद्मा जुध्दा सरकारले मानवीय दृष्टिकाेणले अग्रभागमा रहेर काम गर्ने उहाँले प्रष्ट पार्नुभयाे । विपद्सम्बन्धी कार्यका लागि बजेटकाे स्राेत अभाव हुन नदिइने प्रतिबद्धता पनि उहाँले जनाउनुभयाे । सरकारकाे सर्वाेच्च प्राथमिकता नागरिककाे जीवन रक्षा भएकाले विपद् न्यूनीकरणलाई उच्च प्राथमिकता दिएकाे उहाँले बताउनुभयाे ।
गृह मन्त्री पौडेलले वर्षाका कारण पहिरो जान सक्ने र सडक बन्द हुन सक्ने सम्भावना भएका ठाउँको नजिकमा मानवीय तथा अन्य आवश्यक स्रोत, साधनको व्यवस्थापन गरिएको बताउनुभयो । उहाँले सडक सञ्चालन गर्न र मानिसको आवतजावतलाई सहज तुल्याउन सरकार केन्द्रित भएर लागेको बताउनुभयो ।
गृहमन्त्री पौडेलले डुबानको समस्या समाधान गर्न भारत सरकारसँग दुई पक्षीय संवाद गरिएकाे पनि जानकारी दिनुभयाे । कुनैपनि भौतिक संरचनाका कारणले डुबानमा नपरोस् भन्नका लागि र नदी थुनिएर बस्ती डुबानमा नहोस् भन्नका लागि सरकारले हरसम्भव प्रयास गरिरहेकाे उहाँकाे भनाइ छ ।
